मूर्तिकला त्रिआयामिक विधा हो जसले मूर्त अनुभूति दिने गर्दछ । यस प्रतिष्ठानमा रहेको मूर्तिकला विभाग नेपाली मूर्तिकला तथा मूर्तिकारहरुको विकासको लागि समर्पित छ । यस विभागले नेपाली मूर्तिकलाको इतिहासको विषयमा अध्ययन र अन्वेषण गराउने, त्यसबाट प्राप्त अनुभव र ज्ञानलाई मूर्तिकलासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, कार्यशाला तथा सम्मेलन मार्फत प्रसार गर्ने, मूर्तिकलासम्बन्धी शोध गर्नेहरुलाई वृत्ति प्रदान गर्ने, अध्ययन प्रतिवेदनहरु तयार गर्ने तथा तिनलाई प्रकाशन गर्ने काम गर्दै आइरहेको छ । विज्ञ तथा स्रोतव्यक्तिहरुसँगको अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेर विभागले नेपालका कलाकारहरुलाई विश्वमा रहेका मूर्तिकलासम्बन्धी आधुनिक तथा सृजनात्मक अभ्यास तथा शैलीको विषयमा अवगत गर्दै आएको छ । मूर्तिकारहरुलाई आफ्नो सृजना प्रदर्शन गर्ने कार्यमा सहयोग गर्नु यस विभागको एक प्रमुख कार्य हो । यदाकदा विभागले अन्य कलासम्बद्ध संस्था तथा संगठनहरुसँग मिलेर पनि कलासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । विभागले परम्परागत मूर्ति, आधुनिक मूर्ति, प्रस्तर मूर्ति, टेराकोटा, सेरामिक, काष्ठकला, धातुकला, रिलिफ मूर्तिकला तथा स्वस्तम्भित मूर्ति जस्ता विभिन्न प्रकारका मूर्ति विधाहरुमा कलाकारहरुलाई प्रोत्साहन गर्दै आएको छ । यस विभागको प्रमुखमा प्राज्ञिक परिषद्को कुनै एक सदस्यलाई नियुक्त गर्ने व्यवस्था गरिएको छ ।


 

विभागिय गतिविधिहरु