‘सुदूरपश्चिममा ललितकलाको अवस्था र सम्भावनाको खोजी’ विषयक अन्तरक्रिया कार्यक्रम सोमबार धनगढीमा सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा जनसांस्कृतिक महासंघ नेपाल सुदूरपश्चिम, अखिल नेपाल ललिकला संघ र सिर्जनशील मञ्चले संयोजन गरेको उक्त कार्यक्रममा सुदूरपश्चिमको ललितकलाको संरक्षण र संवद्र्धनका विषयमा विज्ञ वक्ताहरूले विचार सम्प्रेषण गरेका थिए । धनगढीस्थित पर्यटन मन्त्रालयको हलमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामी सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै मन्त्री धामीले सुदूरपश्चिमको ललितकलाको संवद्र्धनका लागि आफू सदैव काम गर्न अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग हातेमालो गर्न तत्पर रहेको विचार राख्नुभयो । उहाँले कलामार्फत सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि समेत प्रतिष्ठानसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कला र संस्कृतिको विकासले मात्रै समृद्ध समाज निर्माण हुने भएकाले यसमा प्रदेश सरकारले ध्यान दिने छ ।’ उहाँले थप्नुभयो, ‘सुदूरपश्चिममा कला क्याम्पस खोल्न, कला ग्यालरी निर्माण गर्न, कला र कलाकारको खोज अनुसन्धान गर्न प्रदेश सरकार प्रतिष्ठानसँग मिलेर काम गर्न तयार छ ।’
सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ले सुदूरपश्चिममा प्रादेशिक प्रदर्शनी गर्न प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले सुदूरपश्चिमका लोककला, हस्तकला, चित्रकला, मूर्तिकला, वास्तुकला लगायतका कलाको खोज,अनुसन्धान गर्न तथा तिनको संरक्षण, विकास र प्रवद्र्धनका निम्ति प्रतिष्ठानले प्रदेश सरकारसँग मिलेर काम गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘सुदूरपश्चिममा रहेका ललितकलाको खोज अनुसन्धानसँगै कला र कलाकारको हितमा प्रतिष्ठानले काम गर्ने सोच बनाएको छ । यसका लागि प्रदेश सरकार, सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान तथा यहाँका पालिका सरकारको भूमिका विशेष रहन्छ ।’
सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक हरिकृष्ण कडायतले सुदूरपश्चिममा ललितकलाको सम्भावना प्रचुर मात्रामा रहे पनि राज्यको पहलकदमी अपुग भएको विचार व्यक्त गर्नुभयो । उहाँले कलाको विकासमा प्रतिष्ठान, प्रदेश प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय, पालिका सरकार तथा सरोकारी संघ संस्थाले आवश्यक पहल लिन जरुरी रहेको धारणा राख्नुभयो । उपप्राध्यापक कडायतले भन्नुभयो, ‘सुदूरपश्चिममा पहिलोपल्ट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कार्यक्रम गरेर राम्रो सुरुवात गरेको छ । आगामी दिनमा प्रतिफल दिने गरी काम गर्ने आशा राखेका छौं ।’
त्यस्तै, प्राज्ञ वासुदेव पाण्डेयले ललितकलाको विकासका निम्ति खोज अनुसन्धानलाई प्रभावकारी ढंगले अगाडि बढाउन जोड दिनुभयो । उहाँले कलाको प्रचुर सम्भावना रहेको सुदूरपश्चिममा प्रतिष्ठानको पहलमा भएको अन्तरक्रिया निकै फलदायी रहेको बताउनुभयो ।
सो कार्यक्रममा गुणाकर पनेरू, चलचित्रकर्मी उदय सिंह बोहोरा, देउडा कलाकार लालबहादुर थापा, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय उपाध्यक्ष बाबुराम आचार्य, देउडा प्रतिष्ठानका उपाध्यक्ष मेघा भट्ट, सुप इन्टरटेन्मेन्ट हाउसका प्रबन्धक अनुप चन्द, कलाकारकार अमर सुनार, चलचित्र निर्देशक वीरेन्दसिंह बिरू, सिर्जनशील मञ्चका सचिव डिल्ली ओझा, माक्र्सवादी अध्ययन फाउण्डेसनका अध्यक्ष केशवनाथ योगी, देउडा प्रतिष्ठान कोषाअध्यक्ष प्रेमविवश चन्द, बुद्ध टुडेका सम्पादक वीरेन्द्र धामी, नेपाल आर्टस्का वीरेन्द्र परियार, नृत्य निर्देशक भिम विष्ट, जनसांस्कृतिक महासंघ केन्द्रीय उपाध्यक्ष डम्मर रोकाय, लेखक संघ सुप संयोजक दिपेन्द्र पाल, समाजशास्त्र अध्ययन परिषद् सुपका संयोजक कोपिला शर्मा, जनसांस्कृतिक महासंघ केन्द्रीय सचिवालय सदस्य तिलकसिंह लगायतका विभिन्न बौद्धिक व्यक्तित्वको उपस्थिति रहेको थियो । साथै, सो अवसरमा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रदिप अधिकारी र दिनेश्वर महतोले सुदूरपश्चिमको ललितकलाको विकास, संरक्षण, प्रवद्र्धन र संवद्र्धनका निम्ति प्रतिष्ठानले प्रदेश सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा अखिल नेपाल ललितकला संघ सुदूरपश्चिम संयोजक कलाकार जितबहादुर आउजी सुपको कलाको विकासमा प्रतिष्ठान र प्रदेश सरकारले आवश्यक पहल लिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिमको कलालाई चिनाउन कलाकार तथा सबै सरोकारी संघ संस्थाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण जनसांस्कृतिक महासंघ नेपालका सुदूरपश्चिम संयोजक सिवी चन्द बाबुराजाले गर्नुभएको थियो ।