नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको गठन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन २०६४ बमोजिम वि.सं. २०६६ चैत्र ३१ गते (तदनुसार १३ अप्रिल २०१०) का दिन भएको हो । प्रतिष्ठानका पदाधिकारीहरुले वि.सं.२०६७ साल वैशाख २ गते (तदनुसार १५ अप्रिल २०१०) बाट औपचारिक रुपमा कार्य सम्हालेका थिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना नेपाली कला जगत्को इतिहासमा एउटा उल्लेखनीय परिघटना थियो । यो नेपाली कलाकारहरुले वि.सं. २०३६ सालदेखि करिब ३ दशकसम्म गरेको अथक संघर्षको परिणाम थियो । वरिष्ठ र युवा दुवै उमेर समूहका कलाकारहरुले नेपाली कला र नेपाली कलाकारहरुको स्वायत्त संस्थाको स्थापनाको लागि एकताबद्ध भई प्रयास गरेका थिए । शुरुमा सम्बन्धित निकायले असंख्य कलाकारहरुको आवाजलाई उपेक्षा गरेको थियो जसले गर्दा कलाकारहरुको संयुक्त सपना केही समयको लागि ओझेलमा पर्न गयो तर त्यो सपना मर्न सकेन । त्यो आवाजलाई जति दबाउन खोजिए पनि त्यो अझ प्रबल हुँदै आयो । त्यसकै परिणामस्वरुप अन्ततः कलाकारहरुले विजय प्राप्त गरे र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना भयो ।

स्थापना भए यता प्रतिष्ठानल राष्ट्रिय स्तरका ललितकला प्रदर्शनी लगायत कला कार्यशाला, गोष्ठी, प्रदर्शनी, शोध तथा प्रकाशन जस्ता विविध गतिविधिहरु सञ्चालन गरिसकेको छ । यसमा रहेका विभागहरुले प्रदेश र जिल्ला जिल्लामा विभिन्न कार्यक्रमहरुको आयोजना गरिसकेको छ । यी विभागहरुका गतिविधिहरु मूर्तिकला, चित्रकला, हस्तकला, लोककला, वास्तुकला, परम्परागत कला, समसामयिक कला, वैकल्पिक कला, भिडियो कला, प्रस्तुति तथा इन्स्टलेशन कला जस्ता विभिन्न विधाहरुसँग सम्बन्धित रहेका छन् । प्राज्ञ सभा तथा प्राज्ञ परिषद् सहित प्रतिष्ठानको पहिलो टोलीले आफ्नो पहिलो कार्यकाल वि.सं. २०७० सालको अन्तमा सफलतापूर्वक सम्पन्न गर्याे । प्रतिष्ठानका प्राज्ञहरुकोे दोस्रो कार्यकाल वि.सं. २०७१ देखि शुरु भै वि.सं. २०७५ मंसिर सम्म चल्यो भने वि.सं. २०७५ पौष देखि तेस्रो कार्यकाल शुरु भै आफ्ना गतिविधिहरुको योजना बनाउने र त्यसलाई पूर्णतः कार्यान्वयन गर्नेतिर नयाँ टोली अग्रसर रहेको छ ।