नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, कपिलवस्तु नगरपालिका, लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालयलगायतको आयोजना तथा लुम्बिनी विकास कोषको मुख्य आयोजनामा पुस २३ गतेबाट कपिलवस्तु–९, सगरहवामा सुरु भएको ‘कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला २०८०’ सोमबार (२०८० माघ ८ गते)  सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला, संस्कृति र पर्यटनलाई विकाससँग जोडेर लान सकेमा यस क्षेत्रको विकास हुने धारणा राख्नुभयो । उहाँले कार्यशालामा बनेका मूर्तिले ऐतिहासिक पक्षलाई उतारेको बताउनुभयो । प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कार्यशालामा तयार भएका मूर्तिहरूलाई स्थानीयले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सन्तानको रुपमा जन्माएका यी सिर्जनालाई यहाँहरुको काखमा छोडेका छौँ ।’
यसैगरी कपिवलवस्तु नगर प्रमुख सुदिप पौडेलले ढुङ्गामा मूर्ति बनाएर जीवन्त बनाएकोमा मूर्तिकारप्रति आभार व्यक्त गर्दै ती मूर्तिको संरक्षण गर्ने जिम्मा आफूले लिने बताउनुभयो । कार्यक्रमको समापन गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवम् प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला २०८० का संयोजक ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले नेपाल सरकारका निकायहरुसँगको सहकार्यमा यो कार्य सम्भव भएको बताउनुभयो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यशालामा प्रवीण श्रेष्ठ, गोविन्द चौधरी, यम थापा, राजन काफ्ले, ओम खत्री, गङ्गाधर सारु, लक्ष्मण भुजेल, भुवन थापा, ताराप्रसाद ओझा, नरेन्द्रप्रसाद भण्डारी, दिनेश्वर महतो, राजु पिठाकोटे, सुनिता राणा, बुद्ध थारु, देवेन्द्र पाण्डेलगायतका मूर्तिकार तथा बेनु थापा, अनिल कोइराला, नोर्बु तामाङ, उमेश कपाली, सोभित लिङ्खा, कुमार थापा, पारस श्रेष्ठ, दीपनारायण चौधरी, ओमप्रकाश सिंह, हरि बयम्बु, शक्तिराज राई, करुणा श्रेष्ठ, सुस्मिता मोक्तान, प्रितम राना मगर, माधव चौधरीलगायतका सहयोगी मूर्तिकार सहभागी हुनुहुन्थ्यो ।