नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभागको आयोजनामा शुक्रवार (२०८१ भदौ ७ गते ) अग्रज कलाकार नरेन्द्रबहादुर श्रेष्ठसँग ललितकला संवाद कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले गर्नुभएको थियो । कार्यक्रममा कुलपति नारदमणि हार्तम्छालीले जराकलालाई लिएर नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो सिर्जना फरक शैलीमा गर्नुभएको बताउनुभयो । उहाँले प्रकृतिलाई संस्कृतिसँग जोडेर श्रेष्ठले सिर्जना गर्नुभएको कला सिर्जना अभिव्यक्तिको माध्यम फरक भएको धारणा राख्नुभयो । उपकुलपति लालकाजी लामाले जराकला त्रिआयामिक रूपमा आधुनिक कलाको प्रतिविम्बका रूपमा आएको देखिने बताउनुभयो । मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले ललितकलाका क्षेत्रमा लामो समयदेखि क्रियाशील कलाकार श्रेष्ठलाई यस कार्यक्रममार्फत समेट्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले ललितकलासँग जोडिनुभएका विविध विधाका व्यक्तित्वहरूलाई नयाँ पुस्तासँग जोड्नु र प्रेरित गर्नु यस कार्यक्रमको उद्देश्य भएको धारणा राख्नुभयो । नाट्यकर्मी अशेष मल्लले श्रेष्ठका कलामा पृथक्पन पाउन सकिने बताउनुभयो । साहित्यकार सावित्री कक्षपतिले जराकलाले यसै कार्यक्रममार्फत आधिकारिकता पाएको धारणा राख्नुभयो । कवि एवम् चलचित्रकर्मी राजेन्द्र सलभले सिर्जनाका लागि उमेरको केही पनि सीमा नभएको कुरा स्रष्टा नरेन्द्रबहादुर श्रेष्ठले प्रमाणित गर्नुभएको बताउनुभयो । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व, कृतित्व र कलाका बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू संजय बान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञ सभासदस्य प्रदीप शाक्य, आरम्भ समूहका अध्यक्ष सुदर्शनविक्रम राणालगायतको उपस्थिति रहेको थियो ।