नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लोककला तथा मूर्तिकला विभागको आयोजना र जासु कला केन्द्र बाँसगढी र बाँसगढी नगरपालिकाको को सहयोगमा भएको ‘तीन दिने लोक चित्र एवम् मूर्तिकला प्रशिक्षण तथा गोष्ठी’ मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको समापन बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरीले गर्नुभयो । उहाँले थारु समाजमा प्रचलित कला, संस्कृति तथा सभ्यताको जर्गेना गर्न नगरपालिका सदैव तयार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘बाँसगढी नगरपालिका स्थानीय कला, संस्कृति, भाषा, साहित्य तथा सभ्यताको जर्गेना गर्न लागिपरेको छ । साथै यस नगरक्षेत्रभित्र रहेका संस्कृतिको खोज अनुसन्धान एवं संरक्षण तथा प्रवद्र्धनप्रति नगरपालिका गम्भीर छ ।’ उपप्रमुख चौधरीले थारु समुदायमा प्रचलित कला र संस्कृतिको संरक्षणका निम्ति प्रतिष्ठानले गरेको कार्य निकै सराहनीय रहेको बताउनुभयो ।
थारु संस्कृतिका अध्येता एकराज चौधरीले थारु लोककला, मूर्तिकला तथा हस्तकलाको संरक्षण, प्रवद्र्धन, विकास र सशक्तिकरणका लागि प्रशिक्षण कार्यक्रम निकै फलदायी रहेको धारणा राख्नुभयो । उहाँले थारु समाजको मौलिक पहिचानको संरक्षणसँगै कला तथा संस्कृतिको विकासका निम्ति नगरपालिका, प्रतिष्ठान एवं सरकारले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले लोककला समाजको धड्कन र सभ्यताको आधार भएकाले यसको संरक्षण र प्रवद्र्धनमा प्रतिष्ठानले काम गरिहेको विचार व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठानले तीन दिने प्रशिक्षण तथा गोष्ठीमार्फत् थारु लोककला तथा मूर्तिकलाका बारेमा प्रशिक्षार्थी विविध पक्षमा ज्ञान लिन सफल भएको बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘प्रशिक्षण तथा गोष्ठीले रैथाने कलाको ज्ञानलाई संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनमा सघाउने आशा लिएका छौं ।’ प्राज्ञ अधिकारीले प्रशिक्षणले थारु लोककलाप्रति लगाव हुने कलाकारलाई सहयोग पुगेको बताउँदै आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
सो कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकाल, जासु हस्तकला केन्द्रका अध्यक्ष कुमाली थारु लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । सो प्रशिक्षणमा प्राज्ञ दिनेश्वर महतो र कलाकार मित्थु थारु प्रशिक्षक रहनुभएको थियो ।