नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र ‘आरम्भ’ (नेपाली समसामयिक मूर्तिकारहरूको समूह) को संयुक्त आयोजनामा बिहीवार (२०८० पुस १२ गते) अग्रज मूर्तिकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीद्वारा लिखित तथा सङ्कलित पुस्तकहरू ‘कलाका कुरा’, ‘मेरो कामना’ र ‘सिर्जना र विवेचना’ विमोचन गरिएको छ । पुस्तकलाई प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ रमेश खनाल, ज्ञानेन्द्र विवश लगायतले सार्वजनिक गर्नुभएको हो ।
स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारीले मैनाली नेपाली आधुनिक मूर्तिकला क्षेत्रका विशिष्ट प्रतिभा भएको बताउनुभयो । उहाँले मैनाली आधुनिक मूर्तिकलाको रत्न भएको धारणा राख्नुभयो । कला लेखक तथा प्राज्ञ ज्ञानेन्द्र विवशले ठाकुरप्रसाद मैनाली समग्र नेपाली कलाको दस्तावेजको भएको बताउँदै उहाँको कृतित्वलाई कलाकार, विद्यार्थीले सन्दर्भ सामाग्रीको रूपमा लिने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भन्नुभयो, ‘ठाकुरप्रसाद मैनाली जिउँदो सम्पदा हुनुहुन्छ । पुस्ता हस्तान्तरणका लागि सदैव ऊर्जा दिनुहुने उहाँको व्यक्तित्व, कृतित्व उदाहरणीय छ ।’ उहाँले मैनालीबाट नयाँ पुस्ताले धेरै कुरा सिक्दै जानुपर्ने बताउनुभयो ।
उपकुलपति लालकाजी लामाले मैनालीले विविध पाटोमा काम गर्न सकिन्छ भनेर सन्देश दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँको ऊर्जाशील जीवन अझ सिर्जनशील होस् भन्ने कामना गर्दछु ।’समारोहमा बोल्दै ठाकुरप्रसाद मैनालीले आफूले भन्नुपर्ने सबैकुरा पुस्तक मै भएको बताउँदै पुस्तक सार्वजनिक गरिदिएकोमा ललितकला प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद दिनुभयो ।
मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सार्वजनिक पुस्तकहरू वास्तव मै कला इतिहासका दस्तावेज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कला सिर्जना गर्ने खुराकका रूपमा यी पुस्तकहरू आएका छन् ।’ अग्रज कलाकारहरूको प्रदर्शनी गर्ने सिलसिलामा मूर्तिकलाको प्रदर्शनी गर्ने तयारी गरिएको जानकारी गराउँदै उहाँले पहिलो प्रदर्शनी ठाकुरप्रसाद मैनालीको गर्ने तयारी गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा प्राज्ञपरिषद् सदस्य सौरगंगा दर्शनधारी, अरुणा हिङमाङ, प्राज्ञ ओम खत्री, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका सदस्य राजेश शाक्य, अग्रज कलाकार नेपाल व्यवसायिक कलाकार संघका अध्यक्ष आइबी मल्ल, प्रा.डा. लय मैनाली, प्रा.डा. अरविन्द रिमाल, अग्रज कलाकार राधेश्याम मुल्मी, बिर्तामोड भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष भगवती ढुङ्गेल, आरम्भ समसामकिय मूतिृकार समूहका अध्यक्ष सुदर्शन विक्रम राणा, कलाकार सुनिता राणा, कलाकार तथा कला लेखक तीर्थ निरौला, उपप्रा. विष्णुप्रसाद श्रेष्ठ, आइडब्लुएसका अध्यक्ष एनबी गुरूङलगायतको उपस्थिति रहेको थियो ।