नेपाल ललितला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभाग र हस्तकला विभागको संयुक्त आयोजनामा गरिएको सेरामिक्स (माटोकला) कार्यशाला बुधवार (२०८० चैत २८ गते ) सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नवपुस्ता भोलिका प्राज्ञिक व्यक्तित्व हुने भएकाले उनीहरू देश र समाजप्रति जिम्मेवार रहनुपर्ने बताउनुभयो । उहाँले बिउ थोरै हुने तर उत्पादन धेरै दिने भएकाले भविष्यमा कार्यशालामा सहभागी सबैबाट त्यसको उत्पादन चाहेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सेरामिक्स कलामा पनि भविष्य देख्नेका लागि कार्यशाला फलदायी हुने बताउनुभयो । हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले कार्यशालामा सोचेभन्दा राम्रो कलाकर्म भएको बताउनुभयो । कार्यशाला संयोजक प्राज्ञ सङ्गी श्रेष्ठले प्रतिष्ठानले गरेको यो कार्यशालामा सिकेका कुराहरू भविष्यमा काम लाग्ने बताउनुभयो । उहाँले कार्यशालामार्फत फायरिङ, ह्विल टेक्निक, क्वाइल टेक्निक, छोटो समयमा सिकाइएको जानकारी दिनुभयो । प्रशिक्षक गोपाल कलाप्रेमीले छोटो समयमा विद्यार्थीले धेरै कुरा सिकेको बताउँदै स्वाध्ययन गरेर पनि धेरै कुरा सिक्न सकिने बताउनुभयो । यसै गरी कार्यशालामा सहभागी जी.जी ह्विल्सले कार्यशालामा सहभागी हुन पाएकामा धेरै खुसी लागेको बताउनुभयो ।
समारोहमा सहभागी कलाकारलाई प्रतिष्ठानका कुलपतिबाट प्रंशसा–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, लोककला विभाग प्रमुख प्रदिप अधिकारी, वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभाग प्रमुख सौरगंगा दर्शनधारीलगायतको उपस्थिति रहेको थियो ।