नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, नेपाल व्यवसायिक कलाकार सङ्घ रूपन्देहीको सह–आयोजना तथा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र रामग्राम नगरपालिकाको सहकार्यमा मङ्गलबार(२०८० फागुन २२ गते )बाट लुम्बिनी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु भएको छ । बुटवलस्थित उद्योग वाणिज्य सङ्घमा भएको प्रदर्शनीको प्रदेशका सभामुख तुलाराम घर्ति मगरले उद्घाटन गर्नुभयो । उहाँले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरूमा कलाको चेत हुन आवश्यक भएको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरण ः ललितकलाको अभियान सफल भएको बताउनुभयो । उहाँले प्रदेशमा प्रज्ञा–प्रतिष्ठानको महत्त्व बुझाउन अझ लाग्नुपर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले कला र संस्कृतिको धनी लुम्बिनी प्रदेशलाई चिनाउनुका साथै यहाँका रैथाने कला र ललितकलाकर्मीका कर्मलाई प्रवद्र्धन गर्न जरूरी रहेको बताउनुभयो । समारोहमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारी, प्राज्ञ यामबहादुर थापा, बुटवल नगरपालिका प्र्रमुख खेलराज पाण्डेय, कलाकार रामदयाल ठाकुर, एच.बी. रम्तेल, मन गोल्डी, नेपाल व्यवसायिक कलाकार सङ्घ रूपन्देहीका अध्यक्ष दिलीप रसाइली, बेनु थापा, खेम घिमिरे, राजकुमार खड्का, सुमित्रा राना, रूपन्देही उद्योग सङ्का अध्यक्ष दिलीप सापकोटा, समाजसेवी दलबहादुर गुरुङ, तानबहादुर के.सी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरूले प्रदेशमा भएको यस प्रदर्शनीले लुम्बिनीवासीलाई उत्साहित बनाएको बताउनुभयो । प्रदर्शनी फागुन २६ गतेसम्म चल्ने छ ।