नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागको आयोजनामा परम्परागत तथा समसामयिक मूर्तिकलाको अवस्था तथा भावी योजनाका विषयमा सोमबार छलफल गरिएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले थुम्केली, पूर्वउपकुलपति तथा प्रसिद्ध मूर्तिकार ठाकुरप्रसाद मैनाली, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्गमो लामा, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङ्गमाङ्ग तथा समसामयिक र परम्परागत मूर्तिकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सदस्य सचिव थुम्केलीले प्रतिष्ठानले हालै सार्वजनिक गरेको ३६ बुँदे अवधारणा पत्र माथि प्रकाश पारे । उनले आगामी आर्थिक वर्षमा प्रतिष्ठानले वर्षको २ पटक जर्नल, सगरमाथा आर्ट समिट, वृत्तचित्र निर्माण, पुरानो सीता भवनलाई संग्रहालय, सातै प्रदेशमा एक एक वटा कला ग्राम बनाउने, सरोकार राख्ने संस्थाहरुबीच समन्वय, प्रादेशिक प्रदर्शनी लगायतका विषय प्रष्ट पारे । कलाले अर्थतन्त्रलाई दिएको योगदानको चर्चा गर्दै उनले यसमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याए ।
मूर्तिकार प्रकाश शाक्यले नेपालमा परम्परागत कलाको कास्टिङ ठुलो भएको बताए । उनले पाटनमा परम्परागत धातुको काम अन्त्य हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे । मूर्तिकार भुवन थापाले आफुहरु समसामयिक मूर्तिकलाको विधामा सबैभन्दा भाग्यमानी भएको बताए । उनले समसामयिक कलाकार ठाकुरप्रसाद मैनाली, गौविन्द नारायण ज्यापु लगायतका व्यक्तिहरुलाई आफूहरुले पाएको धारणा राखे । काष्ठकला मूर्तिकार प्रथमराज बज्राचार्यले काष्ठकला, मूर्तिकला, धातुकला लगायतका विधामा कार्यशाला गर्दा सबैलाई समेट्नुपर्ने बताए । सञ्जय वान्तवाले आफूहरु कसरी बाटो क्लियर गर्ने भन्नेतर्फ लागेको बताए । प्रत्येक व्यक्तिले स्थानीय कलाकारसँग जोडिनुपर्ने उनको राय थियो । कलाकार आनमारी तामाङले मूर्तिकारहरु धेरै भएता पनि महिला मूर्तिकार कम भएको र उनीहरुको सहभागिता बढाउन कसरी सकिन्छ भनेर ध्यान दिनुपर्ने बताइन् । कलाकार सुनिता राणाले नेपालमा मूर्ति बनाउँदा नेपाल बाहिरबाट आएर सस्तोमा काम गरेर जाने र
नेपालीले कामै नपाउने स्थिति आएकाले त्यसको सम्बोधन कसरी गर्न सकिन्छ भनेर ध्यान दिनुपर्ने बताइन् । सौरगंगा दर्शनधारीले सबै मिलेर नै यस क्षेत्रमा काम गर्न सकिने धारणा राखिन् । अरुणा हिङमाङले काम गर्ने ठाउँको अभाव भएकाले सहज व्यवस्था गर्न सके राम्रो हुने बताइन् । प्रदीप अधिकारीले स्वदेशी कलाकारलाई नै प्राथमिकता दिने नियम यस क्षेत्रमा किन लागु नगर्ने भनेर प्रश्न गरे । प्रदीप शाक्यले कला र कलाकारलाई चिन्नुपर्ने कुरा औंल्याए । लक्ष्मण भुजेलले सरोकारवाला निकायसँग समन्वय गरेर जानुपर्ने बताए । गंगाधर सारुले कला क्षेत्रमा ठेकेदारी प्रथा हावी भएकाले त्यसलाई हटाउन नीतिगत रुपमै काम गर्न जरुरी भएको धारणा राखे । सुदर्शन विक्रम राणाले बालबालिका, अभिभावक कलासँग कसरी नजिकिने वातावरण बनाउनुपर्ने बताउँदै विद्यालय विद्यालयमा कार्यक्रम गर्नुपर्ने बताए । विष्णु श्रेष्ठले स्थानीय ढुंगा र कलाकारलाई प्रयोग गर्नुपर्ने बताए । काष्ठकला मूर्तिकार प्रथमराज बज्राचार्य, कलाकार सुनिता राणा, आङमारी तामाङ, विष्णु श्रेष्ठ, राजन काफ्ले, लक्ष्मण भुजेल, गंगाधर सारु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कलाकारका समस्यालाई आफूले टिपेको बताउँदै एकेडेमीले गर्ने सहयोग गर्न आफूहरु तयार रहेको बताए । उनले तीमध्ये केही कुराहरुमा आफूहरु अघि बढिसकेको धारणा राखे । यसका लागि सबैको सल्लाह सुझाव नै महत्वपूर्ण भएको उनको जिकिर थियो ।
कलाकार ठाकुरप्रसाद मैनालीले ललितकला प्रज्ञा प्रतिष्ठान स्थापना गर्नुपूर्वको सेरोफेरोको चर्चा गर्दै प्रादेशिक रुपमा कला प्रदर्शनी गर्न सुझाव दिए । उनले कला सिकिसकेका मान्छेलाई प्रवद्र्धन गर्न जरुरी भएको धारणा राखे ।
उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले सार्वजनिक गरेको ३६ बुँदे अवधारणा अपुग भए आफूहरु त्यसमा थप गर्न तयार रहेको बताए । पाल्साङ्मो लामाले नीतिगत रुप्मा धेरै कमजोरी देखिएकाले सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।
कुलपति नारदमणि हार्तम्छलीले कलाको साझा मूल्यका लागि कलाकारहरु एक हुनुपर्ने बताए । नेपालमा के, कस्ता कलाकार छन् ? कति छन् ?, कस्ता प्रकारका कला र कलाकार छन् ? त्यसको रेकर्ड हुनुपर्ने जिकिर गरे ।