नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नेपाली कलाकार, कला अध्येता तथा कला समीक्षकहरुको साझा संस्था हो । यसको मूल अभिप्राय कलाकृतिको सिर्जना तथा प्रदर्शनीका साथै कलाका विविध विधाहरुको अध्ययन, अन्वेषणमूलक वातावरण निर्माण गर्नु रहेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ परिषद् र प्राज्ञ सभा गरी दुई अङ्गहरु रहेका छन् । प्राज्ञ सभाले नेपाली कलाको विकासको लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गर्ने गर्छ भने प्राज्ञ परिषद्ले नेपाली कलाकार एवं सरोकारवाला निकायहरुसँगको सहकार्यमा ती नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने काम गर्छ । यसले देशभर भइरहेका कलासम्बन्धी गतिविधिहरुको निरीक्षण गर्ने, कलाकृतिहरुको मूल्याङ्कन गर्ने र कलाकारहरुलाई पुरस्कृत गर्ने काम पनि गर्दछ ।  प्राज्ञ परिषदमा कुलपति, उप–कुलपति, सदस्य सचिव तथा प्राज्ञ परिषद्का सदस्यहरु रहन्छन् । प्रतिष्ठानको प्रशासनिक एकाइले प्रतिष्ठानको नियमित कार्यसञ्चालनमा सहयोग गर्दछ । 

काठमाडाैं नक्सालस्थित सीता भवनमा कार्यालय रहेको यस प्रतिष्ठानले देशका विभिन्न जिल्लाहरुमा कलाकार्यशाला, गोष्ठी तथा राष्ट्रिय कला प्रदर्शनीहरुको आयोजना गरी कलाकारहरुमा कलासम्बन्धी नवीन अवधारणा, सीप, विधि र शैलीको प्रचारप्रसार गर्नुको साथै देशभरिका सहभागी कलाकारहरुमा अनुभवको आदानप्रदान गर्दै कला सम्बन्धी थप ज्ञान प्राप्त गर्ने अवसर पनि प्रदान गर्दछ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपालको कलाको इतिहाससम्बन्धी अध्ययन र शोधलाई प्रोत्साहन गर्न अध्ययनकर्ता तथा शोधार्थीहरुलाई वृत्ति प्रदान गर्दछ । प्रतिष्ठानले शोधबाट प्राप्त भएका खोज तथा निष्कर्षहरुलाई अभिलिखित गरी सबै कलाकारको लाभको लागि प्रकाशित पनि गर्ने गरेको छ । कलाकारहरुले आफ्नै परम्पराबाट प्रेरणा लिन सकून् भनेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली कलाकारहरुलाई आफ्नो धरातल र गौरवमय इतिहासको विषयमा अवगत गराउँदै आइरहेको छ । त्यसको साथसाथै यसले समकालीन कलाकारहरुलाई विश्वमा आइरहेका आधुनिक र उत्तरआधुनिक कलाका विविध आयामहरुसँग परिचित गराउने प्रयास गर्दै आइरहेको छ । प्रतिष्ठानले नेपाल सरकारबाट प्राप्त हुने आर्थिक विनियोजन र आफ्नै निजी स्रोतहरुबाट कलाकारहरुको सृजनशीलता र सृजनाहरुको प्रवद्र्धन कार्यमा सहयोग गरिरहेको छ । 

प्रतिष्ठानले विद्यमान कलाका सबै विधाहरुको विकास गर्ने लक्ष्य लिएको छ जसको लागि चित्रकला, परम्परागत, शिल्पकला, लोककला, हस्तकला, वास्तुकला, वैकल्पिक तथा अन्य सृजनात्मक कलाका लागि भिन्दाभिन्दै विभागहरुको गठन पनि गरेको छ । यी सबै विभागहरुको प्रमुखको जिम्मेवारी प्राज्ञ परिषद्का सदस्यहरुलाई दिइन्छ । जसले आ–आफ्नो विभागका लागि सम्बद्ध विषयगत कार्ययोजना बनाउँछन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले परम्परागत र समसामयिक दुवै विधाका कलाका अभ्यासहरुलाई प्रोत्साहन दिने गर्दछ ।