नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको आयोजनामा ‘समृद्धिका लागि सिर्जना’ भन्ने नाराका साथ एक हप्ते ‘काष्ठ–मूर्तिकला कार्यशाला’ बिहीबारबाट सुरु भएको छ । प्रतिष्ठानमा आयोजित एक औपचारिक कार्यक्रमबीच कार्यशालाको अग्रज मूर्तिकार एवम् प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै मैनालीले भन्नुभयो, ‘कलाले परम आनन्द दिन्छ । हामी कलामा डुब्यौं भने भौतिक र आध्यामिक दुवै सुख प्राप्त हुन्छ । भौतिक सुख भनेको बिक्री वितरणबाट प्राप्त हुने, कलाको रसास्वादन गर्ने आनन्द हो भने आध्यामिक सुख भनेको तपाईंले सिर्जना गरेका कलाबाट दिने आनन्द हो । यसर्थ कलाको आधार समृद्धि र मानसिक सन्तुष्टि हो ।’
यसैगरी, यस प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले समृद्धि गहन शब्द भएको बताउँदै यसले सिर्जना र भावनालाई जोडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कलाकारको हितका लागि यसलाई जोड्न खोजेका छौं। यो एक हप्ताको बसाईमा तपाईंहरु औजारसँग खेलेर सिर्जनशील हुनु हुनेछ ।’
कार्यक्रमको समापन मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कलाकारकै हकहितका लागि यो कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो ७ दिनको कार्यशाला लाभदायी र प्रभावकारी बन्ने कुरामा आशावादी छु । हामी मूर्तिकार हल्ला कम गर्छौ तर काम गरिसकेपछि मात्र यो हल्लालाई कामको रुपमा परिणत गर्नेछौं ।’ उहाँले अग्रजले देखाएको समृद्धिको बाटोमा लाग्ने कुराको प्रतिबद्धतासमेत जनाउनुभयो ।