नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभाग र नेपाल ललितकला पत्रकार समाज (सोफाज) नेपालद्वारा संयुक्त रुपमा आयोजित ‘कला पत्रकार/कला लेखन अभिमुखीकरण कार्यक्रम’ शुक्रबार सम्पन्न भएको छ । मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो सभाध्यक्ष रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि उपकुलपति लालकाजी लामा रहेको कार्यक्रममा सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, प्राज्ञसभा सदस्य प्रदीप शाक्य लगायतका कला लेखन र कला पत्रकारितामा सक्रिय व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सोफाज नेपालका अध्यक्ष केशवराज खनालले ललितकला क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई एकत्रित गरी उनीहरुलाई अभिमुखीकरण गर्ने र अवसर सिर्जना गर्ने उद्देश्यले वि.सं २०७२ नेपाल ललितकला पत्रकार समाजको स्थापना गरेको बताउनुभयो । उहाँले संस्थाले ललितकलाको क्षेत्रमा मोफसल तथा केन्द्रमा रहेर कलम चलाउँदै आएका पत्रकारलाई पुरस्कृत गर्दै आएको जानकारी गराउनुभयो । ‘सबैसँग हातेमालो गर्न पाउँदा खुशी छौं । एकेडेमीलाई धन्यवाद दिन चाहन्छौं’, उहाँले थप्नुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले यस कार्यक्रम कला पत्रकारिताका चुनौती, समस्या तथा यस क्षेत्रमा के भइदिए राम्रो हुन्थ्यो भन्ने कुराहरु पहिल्याउनका लागि भएको बताउनुभयो । उहाँले आफूले पनि वि.सं २०५६–५७ सालदेखि कला पत्रकारिता गरेको र पुराना साथीहरुसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । ‘यो सिर्जनाको क्षेत्रले रोजगारी, अर्थतन्त्रमा पनि योगदान दिइरहेको छ’, उहाँले भन्नुभयो ।
उपकुलपति लालकाजी लामाले सोफाज नेपालले कलालाई समाजमा कसरी पुर्याउने र कलालाई कसरी समाजमा कसरी स्थापित गर्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कार्यक्रम पनि ललितकलाकै हितमा भइराखेको छ ।’
कार्यक्रममा कान्तिपुर दैनिककी पत्रकार तथा सोफाज नेपालकी उपाध्यक्ष मधु शाहीले आफूले कला पत्रकारिता गर्दा ताका अनुभव सुनाउँदै ललितकलाको महत्वलाई पत्रकारिता बुझाउन नसकिएको धारणा राख्नुभयो । कलाले दृष्टिकोणलाई फराकिलो बनाउने जिकिर गर्दै उहाँले यसमा धेरै सम्भावना पनि भएको बताउनुभयो । अनलाइनखबर अंग्रेजी संस्करणकी वरिष्ठ उप–सम्पादक तथा सोफाज नेपालकी सचिव संगीता श्रेष्ठले आफ्नो पत्रकारिता क्षेत्रमा प्रवेशदेखि हालसम्मका विभिन्न चरणहरुलाई चर्चा गर्दै कला पत्रकारिता अरुभन्दा पृथक भएको बताउनुभयो । उहाँले रेडियो जस्ता सञ्चार माध्यमले कला पत्रकारितालाई उचित स्थान नदिएको धारणा राख्नुभयो । ‘भूकम्पपछि नेपालमा कला गतिविधिहरु बढेको छ भने स्टुडियोहरु पनि खुलेका छन् । अहिले त हप्तामा २–३ वटा प्रदर्शनी भइराखेको हुन्छ’, उहाँले भन्नुभयो ।
गोरखापत्र दैनिकका आर्ट एन्ड डिजाइनका प्रमुख तथा सोफाज नेपालका अध्यक्ष केशवराज खनालले आफू कलाकार भइकन कलामा लेख्ने रुचिले कला लेखनमा लागेको बताउनुभयो । उहाँले कलाका विभिन्न रुपको चर्चा गर्दै पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत कला पत्रकारिताकाको अवस्था, ध्यान दिनुपर्ने कुरा, यसको महत्व लगायतका विविध विषयमा चर्चा गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक विष्णु ज्ञवालीले कला पत्रकारिता तथा प्राज्ञिक लेखनको महत्व र यसका विविध आयामबारे चर्चा गर्नुभयो । उहाँले प्राज्ञिक लेखनका विशेषता, प्राज्ञिक लेखनको प्रक्रिया, प्राज्ञिक लेखनमा सैद्धान्तिक पर्याधार लगायतका विषय पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममको अन्त्यमा सदस्य सचिव थुम्केलीले प्रतिष्ठानले जेठ १५ गते राष्ट्रिय कला प्रदर्शनी गर्ने र त्यस भन्दाअघि राष्ट्रिय ललितकला सम्मेलन गर्नेसमेत जानकारी दिनुभयो ।
मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कार्यक्रममा सहभागिता जनाएकोमा कला पत्रकार तथा लेखकहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले एकस्तरको लेखाइ त गरिरहनुभएको छ । यस कार्यक्रमले तपाईहरुको लेखनमा निखारता आउँछ भनेर आशा लिएका छौं ।’