नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, मूर्तिकला विभागको आयोजनामा मूर्तिकार ‘मञ्जुल मितेरीसँग ललितकला संवाद’ कार्यक्रम बिहीबार (२०८० साउन ४ गते) सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, लोककला विभाग प्रमुख प्रदिप अधिकारी, वास्तु तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, प्राज्ञसभा सदस्यहरु प्रदिप शाक्य, झिग्मे लामा, अशोक लामा, महेन्द्र सुनार लगायतको उपस्थिती रहेको थियो ।

समारोहमा आफ्नो धारणा राख्दै मूर्तिकार मञ्जुल मितेरीले कक्षा ६ को सामाजिक शिक्षामा राखिएको कलाकार अरनिकोको गाथा पढेर आफू मूर्तिकलामा लाग्न प्रेरित भएको भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पूर्वमा बसेर त्यहाँका ढुंगा,माटोसँग खेल्दै मूर्ति बनाउन थालेँ । २०५८ मा पूर्वमै मूर्तिकलाको जीवन सुरु गर्दैगर्दा राज्यलाई विश्वका चर्चित १००० व्यक्तित्वहरुको अर्धकदको मूर्ति बनाएर दिने सोच राखेँ । २०७९ सम्म पुग्दा १८० वटा मूर्ति बनाएँ । त्यसैबेला जापानको विशाल चट्टानमा बुद्धको मूर्ति बनाउने अवसर आयो । हामी ६ जना मूर्तिकारहरुले त्यहाँ गएर काम ग¥यौं ।’ उहाँले चट्टानमा बुद्धको विशाल मूर्ति बनाउँदाका आफ्ना अनुभव, त्यहाँको कार्यशैली, प्रविधि तथा यन्त्रहरुको प्रयोग, त्यसको महत्व, नेपाली कलाकारको क्षमता, उनीहरुको दृष्टिकोण लगायतका विविध विषयमा पनि आफ्नो धारणा राख्नुभएको थियो । उक्त बुद्ध मूर्तिको सन् २०२५ मा उद्घाटन गरिने जानकारी गराउँदै उहाँले त्यहाँ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको नाम पनि उल्लेख हुने जानकारी गराउनुभयो ।
उपकुलपति लालकाजी लामाले आफूले मञ्जुल मितेरीको कलालाई पहिलेदेखि नै नियालेको र उहाँको कामबाट प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘इटहरीमा भएको कार्यशालामा सिर्जना गरेका कलाहरु पृथक थिए । अहिले मितेरीजी नेपाल आउनुभएको छ । उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु ।’
कार्यक्रममा बोल्दै कुलपति नारदमणि हार्तम्छालीले भन्नुभयो, ‘तपाई (मञ्जुल)को जोस र प्रतिभाले एउटा बिउ रोपेर क्रियाशिलता, सक्रियता र गतिशिलता बढाएको छ ।’ उहाँले जापानमा नेपाली कलाकारले आफ्नो प्रतिभा देखाउने अवसर पाएकोमा खुसी प्रकट गर्दै आगामी दिनमा प्रतिष्ठानले पनि यस्ता कलाकारलाई अभिप्रेरित गर्ने धारणा राख्नुभयो ।
कार्यक्रमको समापन गर्दै मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले मञ्जुल मितेरीको अनुभवले आफूहरुलाई पनि हौसला प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईले नेपाली ललितकलाको क्षेत्रको बारेमा सोच्नु भएको छ । जापानमा बुद्धमूर्ति तयार गर्दा नेपाली शैलीको बारेमा पनि सोच्नुहुनेछ भन्ने अपेक्षा छ ।’