नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, कपिलवस्तु नगरपालिका, लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालयलगायतको आयोजना तथा लुम्बिनी विकास कोषको मुख्य आयोजनामा सोमबार(२०८० पुस २३ गते)बाट ‘कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला २०८०’ कपिलवस्तु–९,सगरहवामा सुरु भएको छ । कार्यशालाको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले उद्घाटन गर्नुभयो । उहाँले कार्यशालाबाट तयार हुने मूर्तिहरूको संरक्षण गर्ने दायित्व स्थानीयको नै भएको बताउँदै कपिलवस्तुमा रहेका विभिन्न ऐतिहासिक र पुरातात्विक स्थलको विकासका लागि कोषले काम गरिरहेको धारणा राख्नुभयो । उद्घाटन समारोहमा बोल्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले यस कार्यमा सहकार्य पाउन खुसीको कुरा भएको बताउनुभयो । उहाँले पुरातात्विक तथा ऐतिहासिक ठाउँमा कार्यशाला हुनु गौरवको कुरा बताउँदै आगामी दिनमा कलासम्बन्धी गतिविधिमा सबैले सहकार्य गर्न अझ आवश्यक रहेको धारणा राख्नुभयो । माघ ८ गतेसम्म चल्ने यस कार्यशाला प्रविण श्रेष्ठ, गोविन्द चौधरी, यम थापा, राजन काफ्ले, ओम खत्री, गंगाधर सारु, लक्ष्मण भुजेल, भुवन थापा, ताराप्रसाद ओझा, नरेन्द्र भण्डारी, दिनेश्वर महतो, राजु पिठाकोटे, सुनिता राणा, बुद्ध थारु, देवेन्द्र पाण्डेलगायतका मूर्तिकार सहभागी छन् ।