नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागद्वारा आयोजनामा असार ७ गतेबाट सुरु भएको “समृद्धिका लागि सिर्जना” विषयक ‘काष्ठ–मूर्तिकला कार्यशाला’ बुधबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै उपकुलपति लालकाजी लामाले नेपाली मूर्तिकलाको विकासक्रमलाई हेर्दा अहिले निकै राम्रो तरिकाले बृद्धि भएको आफूले पाएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँहरुले यो ७ दिनको समयमा जुन सिकाइसँगको उपलब्धि हासिल गर्नुभएको छ यसले समसामयिक चेतको स्तर राम्रो भएको छ । साधन र स्रोतले पछाडि रहेता पनि चेतना र शिल्पको स्तर निकैमाथि पुगेको मैले पाएको छु । यसले अवसरको ढोका खोलेको र सिर्जनाको क्षेत्रमा लागिरहने प्रेरणा दिएको छ ।’
मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले यस कार्यशालाका सहभागी कलाकारले छोटो समयमा धेरै मिहिनेत गरेर कलाहरु सिर्जना गरेको आफूले पाएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यो नै कार्यशाला नै तपाईंहरुको लागि अन्तिम होइन । सुरुवात हो । आगामी दिनमा तपाईंहरुलाई यसले सहज वातावरण बनाउन सहयोग गर्नेछ ।’
कार्यशालाका प्रशिक्षक तथा मूर्तिकार राजु पिठाकोटेले कला समयको बर्वादी नभई ज्ञानको ओखती भएको जिकिर गर्नुभयो । सहभागी कलाकारको तर्फबाट पुजन खतिवडाले प्रतिष्ठानले गरेको यो कार्यशाला महत्वपूर्ण भएको धारणा राख्नुभयो । कार्यशालामा नोर्बु लामा, शक्तिराज राई, पुजन खतिवडा, प्रश्ना बुढा मगर, सुस्मिता मोक्तान, सुस्मिता शाही, पारस श्रेष्ठ, ओम प्रकाश सिंह, सविना तामाङ, रिकेश प्रजापति, विपुल प्रजापति, रविन्सन श्रेष्ठ, जेनिशा शाक्य, सविता मगर, पारस श्रेष्ठ, जंग पहाडी, सुगत शाक्यको सहभागिता रहेको थियो ।