नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउन्डेसनको संयुक्त आयोजनामा काठमाडौँ टिएनालेसँग सम्बद्ध ‘DOCUMENTATION OF DISCOVERY’ THE PETROGLYPHS AND PICTOGRAPHS FROM DHETANG MUSTANG कार्यक्रम शुक्रबार(२०८१ वैशाख ७ गते) सम्पन्न भयो । कार्यक्रममा अनुसन्धानकर्मी डा. फिडेल देवकोटाले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत मुस्ताङको धेताङ क्षेत्रको पुरातात्विक कलाको इतिहास, वर्तमान अवस्था र त्यहाँको कलाको संरक्षणका लागि आगामी दिनमा गरिनुपर्ने कार्यलगायतका विषय चर्चा गर्नुभएको थियो । उहाँले व्यक्तिगत रूपमा गरिएका अनुसन्धानले मात्र प्रभावकारी परिणाम नदिने भएकाले सम्बन्धित क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो । मुस्ताङका थुप्रै पुरातात्विक कलाहरू हराउनेक्रममा रहेकोमा चिन्ता व्यक्त गर्दै देवकोटाले त्यसको उचित खोज, डकुमेन्टेसन, आर्काइभ गर्न अत्यन्तै जरूरी भएको जिकिर गर्नुभयो ।
सिद्धार्थ आर्ट फाउन्डेसनका अध्यक्ष संगीता थापाले कलाको खोज र अनुसन्धानको पाटोलाई सशक्त रूपमा अघि बढाउन यस्ता कार्यक्रम गरिएको बताउनुभयो । उहाँले फाउन्डेसनले प्रतिष्ठानसँग सहकार्य गरेर आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जिकिर गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले अनुसन्धान एउटा प्राज्ञिक प्रक्रिया भएको र कहिल्यै टुङ्गिने विषय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो नेपाली कलाको ऐतिहासिक र पुरातात्विक विषयमात्र नभई मानवसभ्यताको खोज–अनुसन्धान हो । यस्ता प्राज्ञिक कार्यमा प्रतिष्ठानले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दछ ।’ उपकुलपति लामाले नेपाली ललितकलाको क्षेत्रमा खोज, अनुसन्धान गर्नुपर्ने थुप्रै विषय भएकाले त्यस्ता विषयमा केन्द्रिकृत रूपले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, प्राज्ञ संगी श्रेष्ठ, निरीमाया लामासँगै विभिन्न कला सङ्घसंस्थाका प्रतिनिधि, कलाकार, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण काठमाडौं ट्रिएनालेका आर्टिस्टिक डिरेक्टर तथा काठमाडौँ विश्वविद्यालयका सह–प्राध्यापक सुजन चित्रकारले गर्नुभएको थियो ।