नेपाल ललितला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बि.के. आर्ट ग्यालरीको संयुक्त आयोजनामा विश्वकला दिवसका अवसरमा सोमबार(२०८१ वैशाख ३ गते) कला कार्यशाला तथा प्रदर्शनी भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा करिब ३० जना कलाकार सहभागी रहेका थिए ।
कार्यक्रममा कुलपति हार्तम्छालीले मनभित्रको कलालाई आज यो कलाले ऐक्यबद्धता बनाएको सुनाउँदै आज उद्घाटित कलाले विदेशी कलाको कन्टेन मात्र होइन हाम्रो कलाको पनि उजागर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब हाम्रो मिथिला कला, पौभा कला पनि अन्तर्राष्ट्रियकरण गर्नमा पहलकदमी गर्नु जरुरी रहेको बताउँदै ग्रामर अफ आर्ट एउटै हो तर कन्टेन अफ आर्ट आफ्नै हुन्छ । नेपाली भूगोलका आधारमा हेर्ने हो भने हिमाललाई हेर्ने दृष्टिकोण हाम्रो आफ्नैपन हुने र हामी हिमाल भएर हेर्छौँ भने विदेशीले हेर्दा माटो, हिउँ, ढुङ्गा भनेर हेर्लान् तर हामी सगरमाथाको उच्च शिरको गौरवका हिसाबले हेर्छौँ ।’
उपकुलपति लालकाजी लामाले लियोनार्दो दा भिन्चीको जन्मदिनलाई मानेर विश्व कला दिवस मान्न थालिएको बताउनुभयो । उहाँले यो छोटो समयमा बनेका कला र युवाहरूको सहभागिता महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । उपकुलपति लामाले भन्नुभयो, ‘नेपाली कलाको भविष्य बोकेर हिँड्ने युवालाई केन्द्रित कार्यक्रम हामी गर्न खोजिरहेका छौँ । युवाहरूलाई विशेष केन्द्रित गर्दै अघि बढेका छौँ ।’ उहाँले नेपाली कलाको उन्नयनका लागि बनेको यो संस्था यहाँहरूका निमित्त सधैँ खुल्ला रहेको जनाउनुभयो ।
कार्यक्रममा प्राज्ञ संजय वान्तवाले नेपालमा पनि विश्व कला दिवस मनाउने थालनीको सुरुवात गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कलाको चेतना तलसम्म पु¥याउन सकेका छौँ । आगामी दिनमा अगाडि बढाउन हरसम्भव प्रयत्न गरिने छ ।’
यसै गरी बि.के. नरबहादुरले कार्यक्रममा साथ दिने सबै जना कलाकारलाई धन्यवाद ज्ञापन गर्दै युवा कलाकारको उपस्थितिले उत्साहित बनाएको बताउनुभयो । कार्यक्रममा प्राज्ञ पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, अरुणा हिङमाङ, एससी सुमन, नेपाल कमर्सियल आर्टिस्ट सङ्घका केन्द्रीय सदस्य कमल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जंग पहाडीले गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथि कलाकारका रूपमा मिली जनकोभा चेक रिपव्लिकलाई सम्मान गरिएको थियो भने अन्य सहभागी कलाकारलाई प्रमुख अतिथिद्वारा प्रमाण–पत्र प्रदान गरिएको थियो । जसमा एससी सुमन, बि.के नरबहादुर, दोर्जे कामरोङ, केशवराज खनाल, विवेक केटेजा, सुजना बगाले, अङ्कित पोखरेल, निर्जला डङ्गोल, फर्वा लामा, चेतन गौतम, दिनेश मगर, कृपन सुवेदी, नवीना स्याङ्ताङ, ज्ञानु वाइवा, स्मृति श्रेष्ठ, रेभल मर्हजन, कृष्ण थापा, साहील मर्हजन, विकास गुरुङ, लाक्पा शेर्पा, सुविन श्रेष्ठ, डेभिड मर्हजन, पुरुषोत्तम चौधरी थारू, विस्मिता राई, दिपेश राई, साइमन ढकाल, देवांशी काफ्लेलगायत रहेका थिए ।