नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभागको आयोजनामा आइतबार (२०८१ वैशाख १६ गते) धनकुटाको धनकुटा बजारमा ‘हस्तकला चुनौती र अवसर’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका हस्तकला विभाग प्रमुख अरुणा हिङमाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल हुनुहुन्थ्यो । समारोहमा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा धनुकटाको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख चिरञ्जिवी दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने त्यसको टिप्पणी सञ्चारकर्मी रमेशचन्द्र अधिकारीले गर्नुभएको थियो ।