नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागको आयोजना र शिक्षा तथा संस्कृति प्रवर्धन केन्द्र कपिलवस्तुको संयोजनमा आइतबार (२०८१ वैशाख १६ गते )बाट ‘अवधी लोककला गोष्ठी र प्रशिक्षण’ कार्यक्रम सुरु भएको छ । कार्यक्रमको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख पौडेलले लोक परम्परा र कलाका विषयमा कार्यक्रम गरेकामा प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । कलाको महत्त्वका बारेमा प्रकाश पार्दै उहाँले नगरका विभिन्न स्थानका भित्तामा अवधी चित्र बनाउन आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले प्रतिष्ठानको नीति, नियम, कार्यदिशा तथा कार्यक्रमहरूका बारेमा प्रकाश पार्दै अवधि लोककलाको विकास तथा पुस्तान्तरण गर्न यस कार्यक्रमको ठुलो महत्त्व भएको बताउनुभयो । उहाँले समाजका विविध लोकज्ञान पुस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।
समारोहमा लेखक तथा संस्कृतिकर्मी विक्रममणि त्रिपाठीले ‘अवधी लोकचित्रकलामा व्यावसायिकताको आवश्यकता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले अवधी लोकचित्रकलाअन्तर्गतका व्रत तथा पर्वमा बनाइने भित्तिचित्र (गुडिया, रक्षाबन्धन, तिनछठ्ठी, करवा चउथ, दीपावली), संस्कारहरूमा बनाइने भित्तिचित्र (कोहबर, छठ्ठी चित्र, मैहर द्वार, ऐपन, गङ्गा यमुनाको लोकचित्रण, सोनचिरैया) भूमिचित्र (चउक पुरन, ठप्पा चित्र),गोदना, मेहदीलगायतको इतिहास, वर्तमान अवस्था र महत्त्वबारे चर्चा गर्नुभयो ।
कार्यपत्रका टिप्पणीकर्ता अग्रज कलाकार रामदयाल ठाकुर हुनुहुन्थ्यो । उहाँले इतिहासको अनुहार लोककला भएको बताउँदै औपचारिक शिक्षाले मात्र लोकसंस्कृति वा कला निकाल्न सम्भव नभएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यो हाम्रो समाज र घर घरबाट निस्कने गर्दछ । अहिले पक्की घरहरू बन्न थाले । गोबर/माटाको आकृति बनाउने चलन हरायो । यसकार्यक्रमले अवधी लोककलाको विषयलाई अझै विकासको पाइलामा अगाडि बढाउने विश्वास मैले लिएको छु ।’
कार्यक्रममा सभाध्यक्ष पशुपतिमणि त्रिपाठीले लोककलाको क्षेत्र विशाल भएको तर यसको लिखित दस्ताबेज भने नपाइने बताउनुभयो । उहाँले हस्तकलाका सामग्रीमा लोककलाको झलक देखिने जिकिर गर्दै पुस्तान्तरणको प्रक्रियाले लोककलाको संरक्षण हुँदै आएको धारणा राख्नुभयो । ‘जन्मदेखि मरणसम्मको विविध सांस्कृतिक संस्कारहरूमा लोककलाको प्रयोग हुँदै आएको छ । त्यसको पुस्तातरण हुनुपर्दछ,’ त्रिपाठीले भन्नुभयो ।
कार्यक्रममा नगरपालिका वडा नं ३ का अध्यक्ष प्रकाश गैरे, वडा नं १ का सदस्य विष्णुप्रसाद बारी, शिक्षा तथा संस्कृति प्रवर्धन केन्द्र कपिलवस्तुका सल्लाहकार रमेश शर्मा, माहुरी होम कपिलवस्तुका रविन्द्रनाथ ठाकुर, गैरसरकारी संस्था महासङ्घ कपिलवस्तुका जयप्रकाश पाण्डे, दलित सामाजिक विकास केन्द्र कपिलवस्तुका रामशरण रैदास, नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यसँगै विभिन्न स्थानीय कलाकार/बुद्धिजीवी, समाजसेवी, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । अग्रज कलाकार रामदयाल ठाकुरको प्रशिक्षण रहने कार्यक्रममा ४० जनाभन्दा प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । कार्यक्रम मङ्गलवारसम्म चल्ने छ ।