नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० सन्दर्भ पारेर हस्तकला : चुुनौती र अवसर विषयक समूहगत छलफल गरिएको छ । नेपाली हस्तकला क्षेत्रमा देखिएका चुनौती र अवसरका बारेमा मिति २०८० जेठ २० गते शनिबार प्रतिष्ठानको भाजुमान सभा कक्षमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य–सचिव देवेन्द्र कुमार काफ्ले थुम्केली, हस्तकला विभाग प्रमुख प्राज्ञ अरुणा हिङमाङ, प्राज्ञ सौरगंगा दर्शनधारी, प्राज्ञसभा सदस्य प्रदिप शाक्य, प्राज्ञसभा सदस्य महेन्द्र सुुनार, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, रत्न तथा आभूषण महासंघका वरिष्ठ केन्द्रीय सदस्य रुद्रबहादुर बराइलीका साथै हस्तकला क्षेत्रमा कार्य गर्दै आउनुुभएका अन्य कलाकार एवम् महानुुभावको उपस्थिति रहेको थियो । प्राज्ञसभा सदस्य महेन्द्र सुनार सञ्चालन गरेको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्र थुम्केली गर्नुभएको थियो भने वक्तका रुपमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य र रत्न तथा आभूषण महासंघका वरिष्ठ केन्द्रिय सदस्य रुद्रबहादुर बराइली रहनुुभएको थियो ।
हस्तकला क्षेत्रमा देखिएका चुनौतीमा मागको आपूर्ति गर्न नसक्नु नै अहिलेको ठूलो समस्या भएको महासंघका अध्यक्ष शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हस्तकलाको बजार ठूलो छ, परम्परागत काष्ठ तथा धातुका मूर्तिहरुको एसिया विशेषगरी चीनमा ठूलो माग छ । हामीले माग पूरा गर्न नसकेका भएर नै उनीहरुले मेसिनबाट बनाइरहेका छन् ।’ उहाँले हस्तकलाअन्तर्गत ४२ विधालाई समेटेर अगाडि बढिरहेको र त्यसअन्तर्गत फेल्ट निर्यातमा सबैभन्दा अगाडि भएको बताउनुभयो । यसमा पनि बागमती प्रदेशबाट मात्रै ८० प्रतिशतभन्दा बढीको उत्पादन हुने र यो क्षेत्रमा विशेषगरी महिला करिब ८० प्रतिशत काम गर्ने जनाउनुभयो । निर्यातमा विभिन्न समस्याले गर्दा ३० प्रतिशत कमी आए पनि हामीले आइरहेको मागलाई पुर्याउन सकेका छैनौं, उहाँले भननुभयो । कार्यक्रममा बोल्दै अर्का वक्ता रुद्र बराइलीले कच्चापदार्थको आयात र सहज ढङ्गबाट निर्यात गर्न राज्यबाट नै ठोस नीति नियमको निर्माण नभएको र व्यवसायी पनि यस सम्बन्धमा एकीकृत नभएकाले गर्दा चुनौती थपिएको बताउनुभयो ।
अवसरका बारेमा कुरा गर्दा शाक्यले भन्नुभयो, ‘पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलाउनु पर्दछ । हरेक क्षेत्रमा मात्रै एउटा एउटा मूर्ति निर्माण गर्नसके यसले रोजगारीको अवसर त सिर्जना गर्छ नै पर्यटन व्यवसायमा पनि ठूलो सहयोग गर्दछ ।’ अवसरमा थप गर्दै बराइलीले भन्नुभयो, ‘उत्पादन र खपत हेरी काम गर्नुपर्दछ र अवसरका लागि राज्यबाट पनि पहल हुनुपर्यो । हस्तकलाको बजार निकै ठूलो छ, तर राज्यबाट यस क्षेत्रको लागि काम गरेको खासै देखिँदैन’ । छलफलमा हस्तकलाका विषयलाई पाठ्यक्रममा समावेश गर्न जोड दिनुपर्ने र सतहमा मात्र नभई विषयको गहिराइसम्म केन्द्रित हुन पाठ्यक्रममा त्यही अनुसार व्यवस्था गर्नुपर्नेमा सबैको एकमत थियो । समग्रमा हस्तकला क्षेत्रको संवद्र्घन एवम् प्रवद्र्घनका लागि ऐनको व्यवस्था गर्नुपर्ने, कामदारलाई काम गर्नका लागि सहज वातावरणको सिर्जना गरिदिनुपर्ने तथा मौलिक कलालाई अभिलेखिकरण गर्नुपर्नेजस्ता विषयमा छलफल केन्द्रित थियो । यस्तै हस्तकलामा कलापक्षमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो । यसका साथै हस्तकलामा देखिएका चुनौतीलाई एकल प्रयासबाट मात्र सम्बोधन गर्न नसकिने हुनाले सबै एकजुट भएर लाग्नुपर्ने छलफलको निष्कर्ष रह्यो ।