नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को आयोजनामा अग्रज कलाकार शशी शाह, कृष्ण मानन्धर, स्व. इन्द्र प्रधान र वत्सगोपाल वैद्य अर्थात् स्किव–७१ को चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको आइतबार नाफा परिसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एक समारोहका बीच उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै खनालले भन्नुभयो, ‘हाम्रो देश नेपाल कलाको एउटा खानी जस्तो छ । त्यसमा पनि ललितकलाका असख्य विधाहरु छन् । ७ वटा विधाको प्रचार गर्ने गर्छौ ।’ उहाँले भर्खरै सम्पन्न राष्ट्रिय ललितकला प्रदर्शनी आफूले अवलोकन गर्दा नेपाली कलाको सिर्जनशीलता निकैमाथि पुगेको आफूले पाएको धारणा राख्नुभयो । उहाँले थप्नुभयो, ‘वास्तविक मुटुको धमनी बलियो बनाउने हो भने त्यहाँको कला र साहित्यको विकास गर्न सकेमा मात्र समृद्ध हुन्छ ।’ कलाकारलाई आवश्यक प्रोत्साहन र वातावरणका निमित्त नै ३ वटा प्रतिष्ठान बनेको तर बजेट र नीतिको कमी रहेको औल्याउँदै उहाँले सरकारले प्राथमिकतामा राखेर यी कुरालाई ठाउँ दिनुपर्ने कुरा बताउनु भयो ।
यसैगरी अग्रज कलाकार कृष्ण मानन्धरले आफूहरुले बम्बईबाट अध्ययन गरेर फर्किएपश्चात् समूह बनाएर कला गतिविधि गर्ने र आर्ट ग्यालरी खोल्ने काम गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘त्यस समय राम्रो आर्ट ग्यालरी थिएन । शशी विक्रम क्याम्पस प्रमुख हुनुहुन्थ्यो र उहाँले दिएको योगदान भुल्नु हँुदैन । इन्द्रजीले बुढानिलकण्ठमा आर्ट टिचरको रुपमा काम गर्नुभयो राज दिपेन्द्रलाई समेत पठाउनु भयो । त्यो अवस्था थियो त्यस समय तर अहिले धेरै कलाकार जन्मि सकेकोमा खुशी लागेको छ ।’
अग्रज कलाकार शशी विक्रम शाहले भन्नुभयो, ‘धेरै विद्धानले यस विषयमा रिर्सच पनि गरेका छन् । हातमा लिएका वहान घोडा भएको घोडाले मलाई पछ्याएको छ । अचम्मको रहस्य यो अन्तरसम्बन्ध यहाँ मात्र होइन बम्बईमा पढ्दा भएको हो । संगठनात्मक रुपमा काठमाडौंमा कलाको काम गर्नुपर्छ । संगठनबाटै कलाको इतिहास बनाउनुपर्छ भनेर शशी शाह, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, इन्द्र प्रधान एकढिक्का भएर आयौं । कसैले उठाउन नसक्ने एकढिक्का भयौ ।’ नेपालको कलाक्षेत्र स्किव–७१ बाटै संगठनात्मक रुपमा जानुपर्छ भन्दै उहाँले नयाँ पुस्तालाई सचेतसमेत गराउनुभयो ।
सदस्य सचिव देवेन्द्र कुमार काफ्लेले अग्रज कलाकारको प्रदर्शनीलाई निरन्तरता दिने बताउँदै यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अग्रज र दिवङ्गत कलाकारको प्रदर्शनीको सुरुवात गरेका छौं । आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन्छौं ।’
उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले स्थापना कालदेखि नै कलाको उत्थानका लागि विविध गतिविधि गर्दै आएको बताउँदै आफूहरुले अग्रजले देखाएको बाटो पहिल्याएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘अग्रज स्रष्टाको प्रदर्शनी गर्न पाउँदा जिम्मेवारीबोध भएको छ । यसलाई निरन्तरता दिँदै हामी नयाँ पिँढी सम्म पुग्नेछौं ।’
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला पढ्दाका गुरुहरुले दिएको मार्गदर्शनकै शिक्षाले आफूले प्रतिष्ठानजस्तो संस्थाको जिम्मेवारी पाएको बताउनुभयो । उहाँले विगतका विरासतसँग अग्रजको भूमिकालाई जोडेर अगाडि बढाउन जरुरी भएको धारणा राख्नुभयो । उहाँले थप्नुभयो, ‘यस्ता विविध कुरालाई सम्बोधन गर्न हामी राष्ट्रिय ललितकला सम्मेलन गर्दैछौं र सर्भे पनि गर्दैछांै ।’ ‘अन्तरसम्बन्ध–२०८०’ नाम दिइएको यस प्रदर्शनी असार १२ गतेसम्म चल्नेछ ।