नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम प्रदेश समन्वय समितिको आयोजनामा शुक्रबार (भदौ १५ गते) सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उपत्यकामा रहेर कलाकर्म गरिरहनुभएका कलाकारको भेला सम्पन्न भएको छ । छलफलमा प्रदेशमा के–कस्ता कार्यहरु गर्न सकिन्छ ? लोक तथा हस्तकलालाई कसरी उठान गर्न सकिन्छ ? सुदूरपश्चिमका विश्वविद्यालय र विद्यालयमा कला विषयलाई कसरी स्थापित गराउन सकिन्छ ? त्यहाँका संघसंस्थासँग कसरी सहकार्य गर्न सकिन्छ ? भन्ने लगायतका विविध विषयमा छलफल भएको छ । छलफल कार्यक्रममा प्राज्ञसभा सदस्य कृष्णप्रकाश शाह, ताराप्रसाद ओझा लगायतका सुदूरपश्चिम प्रदेशलाई प्रतिनिधित्व गर्ने कलाकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै लोककला विभाग प्रमुख एवं सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक प्रदिप अधिकारीले सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि कलाको खोजी गर्ने, स्थानीय तथा सुविधा अवसरबाट पिछडिएका कलाकारलाई समेटेर अगाडि बढ्ने, ललितकला र संस्कृतिको निर्माण गर्न स्थानीयस्तरमा पहल गरी अर्थ र पर्यटनसँग जोडिनुपर्ने कुरालाई जोड दिनुभयो । कलाकार ताराप्रसाद ओझाले सबैभन्दा पहिला कलाकार नै आवश्यक पर्ने भएकाले सुदूरपश्चिममा कलाकारको तथ्याङ्क संकलन गर्नुपर्ने, बजेटको लागि प्रदेश सरकार र प्रतिष्ठानको सहकार्य हुनुपर्ने, कलादीर्घाको व्यवस्था गर्नुपर्ने तथा संस्कृतिको रुपमा कला गतिविधि गर्नुपर्ने जस्ता कुराको उठान गर्नुभयो ।
फोटोग्राफर तथा कलाकार चक्र थापाले उत्प्रेरणा दिने धेरै कलाकार हराएर जाने, उनीहरुले अवसर नपाउने गरेको बताउँदै त्यसका लागि खाका तयार पारी कलाकारका बारेमा बुझी तथ्याङ्क राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिमका ग्रामीण इलाकामा रहेका हस्तकलाका बारेमा अनुसन्धान गर्नुपर्छ । कुन ठाउँमा, कुन समयमा, कुन क्षेत्रमा कस्तो खालको कला छ भन्ने कुराको तथ्याङ्क लिनको लागि सर्भे गर्नुपर्छ ।’ कलाकार समिप ओझाले सुदूरपश्चिममा समुदाय अनुसारको फरक–फरक कला भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम रैथाने ज्ञान र कलामा पनि फरक छ । त्यहाँका विविध जातजाति र उनीहरुको कला एवं संस्कृतिको खोजी हुन जरुरी छ ।’ यस्तै कलाकार दीपक आउजीले सुदूरपश्चिमको कला विकासका लागि प्रतिष्ठानले सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।