प्रसिद्ध कलाकार आङ छिरिङ शेर्पाको जीवनका बहुआयामिक पक्षबारे चर्चा गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागद्वारा मंगलबार आयोजित ‘ललितकला संवाद कार्यक्रम’ मा शेर्पाले आफ्नो बाल्यकालदेखि अन्तर्राष्ट्रिय यात्रा तथा वर्तमान अवस्थाको बारेमा चर्चा गरे । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा एवम् अन्य विभिन्न कलाकार तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
संवादका क्रममा शेर्पाले सन् १९६८ मा काठमाडौंको बौद्धमा जन्मिएको प्रसंगदेखि बुवा मास्टर उर्गेन दोर्जेसँग परम्परागत थाङ्का बनाउन सिकेको, अमेरिका यात्रा, त्यहाँ कलाकारको रुपमा चिनिन गरेको संघर्ष, हाल गर्दै आएका काम र आफूले यस क्षेत्रमा लागेर पाएको ज्ञानका विविध पक्षबारे उल्लेख गरेका थिए । उनले भने, ‘मलाई थाङ्कामा पनि कन्टेम्पोररी भन्दा पनि पुरानो कला मनपर्छ । नेपालमा कलाको खानी छ तर ट्यालेन्टलाई अप्रिसियट गर्ने अडियन्सको कमी छ । विदेशका कलाकारहरु कोल्याबरेसनमा जाँदैछन् । म पनि यसलाई राम्रो मान्छु । हामी पनि यस रुपमा अघि बढ्न सक्छौं ।’ यसको उदाहरण स्वरुप उनले नेपालका कलाकार राजन शाह, श्याम महर्जन, विजय महर्जनसँग गरेको उदाहरण दिए । शेर्पाले नेपाली कलालाई जतिसक्दो बढी अडियन्स चाहिने बताए । विश्वमा फेसन अडियन्स धेरै भएको उल्लेख गर्दै उनले इटालीको चर्चा गरे । ‘इटालीले फेसनको क्षेत्रमा गरेको काम हामी नेपालमा पनि गर्न सक्छौं । नेपालमा प्रतिभा नभएको हैन । त्यसलाई मार्केटको रुपमा अघि बढाउन सकेको खण्डमा धेरै राम्रो हुन्छ’, उनले थपे । नेपालमा ग्यालरीहरु भएता पनि कलाकारलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने अवस्थामा एकदमै कम भएको उनको भनाइ छ ।
नेपालसँगै अमेरिकालाई कर्मभूमि बनाएका शेर्पाले हङकङ, अमेरिका, युरोप, बेलायतका स्थानमा एकल तथा युएइ, भेनिस बाइनाले, रुबिन म्यूजियम, जर्मनी, चीन, अस्ट्रेलिया, सिगापुर लगायतका स्थानमा प्रदर्शनी गरिसकेका छन् । उनलाई विश्व प्रसिद्ध सञ्चारमाध्यमहरु हफिङ्टन पोस्ट, वाल स्ट्रिट जर्नल, द टेलिग्राफ, द न्यूयोर्क टाइम्स लगायतले महत्वपूर्ण स्थान दिँदै आएका छन् ।
कार्यक्रममा बोल्दै सदस्यसचिव थुम्केलीले शेर्पाले नेपाली कलाको शैलीलाई अन्तर्राष्ट्रियकरण गरेको जिकिर गरे । उनले भने, ‘नेपाली मौलिक कलालाई समसामयिक रुपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउनु गर्वको विषय हो ।’ वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले शेर्पासँग ललितकला संवाद गर्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘उहाँको कलाकारिता तथा जीवनबाट हामीले धेरै कुराहरु सिक्न सक्छौं । त्यसकारण यहाँ उपस्थित सबैका लागि यो एउटा महत्वपूर्ण अवसर पनि हो ।’ चित्रकला विभाग प्रमुख सञ्जय वान्तवाले शेर्पा जस्ता कलाकार अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्दा आफूहरुलाई गर्व लाग्ने बताए । प्रतिउत्तरमा शेर्पाले नेपाली कलाक्षेत्र एकदमै जीवन्त र गतिशील भएको बताए । उपकुलपति लालकाजी लामाले ‘राष्ट्रिय कला प्रदर्शनीमा तपाईहरुको कला राख्नको लागि के गर्नुपर्छ ?’ भनेर शेर्पालाई प्रश्न गरेका थिए । जवाफमा उनले आफूले उक्त प्रदर्शनीकै लागि भनेर कला निर्माण गर्नको लागि ४–६ महिनाको समय चाहिने र बिक्री गर्न बाँकी जुनसुकै कलालाई लिएर आफू प्रदर्शनीमा सहभागी नहुने बताए । कुलपति नारदमणि हार्तम्छालीले अन्तर्राष्ट्रियस्तरमा परिचित कलाकारसँग विचार विमर्श गर्ने मौका पाएकोमा खुसी भएको बताए । उनले कलालाई विश्वबजारको अर्थतन्त्रसँगै संस्कृतिसँग जोडिएर लैजाउनुपर्ने धारणा राखे । ‘उहाँको जीवनी हेर्दा मलाई नयाँ बिम्ब आएको छ’, हार्तम्छालीले भने ।