‘सहिद दिवस २०८०’ को सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा माघ १५ गते गरिएको ‘राष्ट्र निर्माणमा सहिदको बलिदान’ विषयक चित्रकला कार्यशालाबाट सिर्जित कलाकृतिको माघ १६ गतेबाट गरिएको प्रदर्शनी सोमबार (२०८० माघ २२ गते) सम्पन्न भएको छ । प्रदर्शनीको समापन कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, उपकुलपति लालकाजी लामा, सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, जुपिटर प्रधान, कला समीक्षक मुकेश मल्ललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यशालामा सहभागी कलाकारहरुलाई धन्यवाद दिँदै प्रतिष्ठानले यस कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो महत्त्वपूर्ण कार्यक्रममा प्रतिष्ठान आगामी वर्षदेखि एक जना महिला र पुरुषलाई सहिद अनिल लामा स्मृति पुरस्कार र सहिद बाबुराम लामा स्मृति पुरस्कार दिने घोषणा गर्दछ ।’
बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले राजनीति र संस्कृति ठिक ढङ्गले जोडिन नसकेको बताउँदै सानो चित्रले हरेक पुस्तामा विचार निर्माण गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहिदको बलिदानबाट मात्रै परिवर्तन सम्भव भएको हो । प्रतिष्ठानले सहिदको सम्मानमा गरेको कार्यक्रमले नवपुस्तामा सकारात्मक सन्देश दिने छ ।’ उपकुलपति लालकाजी लामाले देशलाई आजको अवस्थामा ल्याउन योगदान दिने सहिदहरूप्रति सँधै श्रद्धा रहने बताउनुभयो । उहाँले कार्यशालामा सहभागी कलाकारप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमलाई व्यापक बनाउन जरुरी रहेको धारणा राख्नुभयो। प्रदर्शनीमा प्रदर्शित कलाकृतिका बारेमा चर्चा गर्दै कलाकार तथा कला समीक्षक मुकेश मल्लले चित्रले सहिदप्रति सम्मान व्यक्त गरेको बताउनुभयो । उहाँले समीक्षात्मक टिप्पणी गर्दै समाज रुपान्तरणमा बलिदान दिने सहिदप्रति कलाकारले कलामार्फत राष्ट्रिय भावना व्यक्त गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘कलामार्फत कलाकारले राष्ट्र निर्माणमा योगदान दिने सहिदको सपनालाई रङ र भावनामार्फत प्रस्तुत गरेका छन् ।’
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले प्रतिष्ठानले यस वर्षदेखि प्रदेश प्रदर्शनीमार्फत सङ्घीयताको अभ्यास सुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो देशमा परिवर्तन ल्याउन सहिदहरुको भूमिका महत्त्वपूर्ण छ ।’ थुम्केलीले प्रतिष्ठानले आगामी दिनमा गरिब, उत्पीडित, दलितलगायतका समुदायको उत्थानका लागि योजना बनाएर काम गर्ने विचार राख्नुभयो ।
प्रदर्शनीमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, संगी श्रेष्ठ, जुपिटर प्रधान, भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, लीलाधर केसी, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशव राज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदनकुमार सिंह, विपना महर्जन, अशुराम खाइजु, राजकुमार राना, कान्छाकाजी भासिमा, मंगोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामी, महेश बास्ताकोटी, प्रकाश मानन्धर, एविना भडेललगायतका कलाकारका कलाकृति राखिएका थिए ।