‘राष्ट्रिय ललितकला सम्मेलन २०८०’ सम्पन्न
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मंगलबार ‘राष्ट्रिय ललितकला सम्मेलन २०८०’ सम्पन्न भएको छ । सामूहिक रुपमा पानसमा दिप प्रज्वलन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, अग्रज कलाकार एवं मानार्थ प्राज्ञ क्रोधकला शिरोमणि कालु कुमाले, पूर्वउपकुलपति ठाकुरप्रसाद मैनाली, अग्रज कलाकार वत्सगोपाल वैद्यले सामूहिक रुपमा उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै उपकुलपति लालकाजी लामाले कार्यक्रमिक, खोज अनुसन्धान तथा प्रकाशन, सङ्ग्रहालय–पार्क–मूर्ति उद्यान–ग्यालरी, शिक्षा, अन्तर्राष्ट्रिय लगायतका विषयमा प्रतिष्ठानको सोचको बारेमा स्पष्ट पार्नुभयो । उहाँले ‘राष्ट्रिय ललितकला सम्मेलन–२०८०’ले ललितकला क्षेत्रकै आगामी बाटो तय गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सदस्य सचिव देवेन्द्र थुम्केलीले भन्नुभयो, ‘हाम्रोमाझमा धेरै प्रश्नहरु छन् ? चुनौती पनि धेरै छन् ?’ उहाँले छलफलमा आएका महत्वपूर्ण कुराहरुलाई आगामी दिनमा कसरी व्यवस्थित र कानुनी ढंगमा लग्न सकिन्छ भनेर ध्यान दिने जानकारी गराउनुभयो । साथै, प्रतिष्ठानको स्थापनाकालदेखिका कलाकृतिहरु खोज्दै लाने र भूकम्पले क्षति पु¥याएका संरचनालाई पुननिर्माण गर्दै जाने बताउनुभयो ।
प्राज्ञ संगी श्रेष्ठले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका विगत १२ वर्षदेखिका प्रदर्शनी तथा अन्य प्रगतिको संक्षिप्त प्रगति विवरणसहितको सुझाव–पत्रका साथै योजना प्रस्ताव प्रस्तुत गर्नुभयो । यसैगरी,प्राज्ञ ओम खत्रीले नेपाली कलाको भावी आधार विगत र वर्तमान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । अर्का कार्यपत्र प्रस्तोता मुकेश मल्लले विगतका राष्ट्रिय ललितकला प्रदर्शनी साथै विभिन्न अन्य कार्यक्रमका गतिविधिहरु, कलाकारको गतिशीलता, भावी कार्ययोजनाका साथै कलाक्षेत्रमा देखिएका चुनौती, समस्याको मूल जरो, दिगो रुपमा कलाक्षेत्रको रणनीति, संस्थाको संरचना, लक्ष्य, लगायतका विषयलाई समेटेर कार्यपत्र प्रस्तुत गर्नुभयो । साथै, कलाकार तथा कलालेखक नगेन्द्रप्रसाद पौड्यालले कार्यपत्र प्रस्तुत गर्दै यस प्रतिष्ठानको संस्थागत सवलीकरणका विषयमा संविधान र प्रचलित कानुनले निर्धारण गरेको प्रावधानहरु २०६४ को ऐनबाट चलेको ललितकलालाई अन्य विभिन्न संयन्त्रहरुको व्यवस्था हाम्रो आफ्नो सांगठनिक संरचनाको आधारचित्र तयार गरेर नीति तथा कार्यक्रमलाई सम्बन्धित निकायमा छलफल गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै अग्रज मूर्तिकार तथा पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीले कला शिक्षा तथा प्रदेशस्तरीय प्रदर्शनीमा जोड दिनुपर्ने धारणा राख्नुभयो । पूर्वउपकुलपति शारदा चित्रकारले हाम्रो देश मौलिकतामा अत्यन्तै धनी भएको बताउँदै यसमा महिलाहरुको सहभागिता पनि अपरिहार्य बताउनुभयो । उहाँले यो सम्मेलन कलाक्षेत्रका लागि एउटा महत्त्वपूर्ण संगमस्थल रहेको जिकिर गर्नुभयो ।
सम्मेलनमा उपस्थित कलाकारलाई ६ समूहमा विभाजन गरी समूहगत छलफल गरिएको थियो । समूहगत छलफलबाट आएका विषयलाई समूहका प्रतिनिधिले सल्लाह तथा सुझावको रुपमा प्रस्तुत गर्नुभएको थियो । ती सल्लाह तथा सुझावहरुमा कलाको मौलिकला र सुन्दरताका आधारमा कलाको मुल्याङ्कन गर्ने, रैथाने कलाको खोज तथा अनुसन्धान गर्नुपर्ने, समकालिन कलाको प्रचारप्रसार गर्नुपर्ने, अरनिको स्मृति दिवसमा सार्वजनिक बिदा दिइनुपर्ने, कलाकार कल्याण कोषको निर्देशिका हुनुपर्ने, पुरस्कार निर्देशिका समयअनुकूल परिमार्जन गर्नुपर्ने, विद्यालयको पाठ्यक्रममा कला विषयलाई समावेश गर्नुपर्ने, प्रदेश तथा स्थानीय तहमा प्रतियोगिता तथा प्रशिक्षण कार्यहरु गर्नुपर्ने, वार्षिक प्रदेशस्तरीय प्रदर्शनी गनुपर्र्ने, अन्तर्राष्ट्रिय पुस्तकालय बनाउनुपर्ने, व्यवसायी कलाकारको संरक्षण गर्नुपर्ने, कला र कलाकारबीचको बिचौलियाको अन्त्य गर्नुपर्ने, विश्वमा नेपाली कलाको प्रचार–प्रसार गर्नुपर्ने, नीति निर्माणमा जोड दिनुपर्ने, ललितकलाको विकास बोर्ड खडा गर्नुपर्ने, पुरस्कृत कलाकारको कलाकृतिलाई सुक्ष्म मूल्यमा अक्सन गर्नुपर्ने, स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने, नीति तथा कार्यक्रममा कलामा लगानी गर्नुपर्ने, बजेटको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका विषयहरु समेटिएको थियो ।
कार्यक्रमको अन्त्यमा कुलपति, उपकुलपति तथा सदस्य सचिव लगायतको उपस्थितिमा सहभागी कलाकारलाई मायाको चिनो तथा प्रमाण–पत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै कुलपतिले सबै समूहबाट आएका सल्लाह तथा सुझावलाई पुँजीकृत गर्दै व्यवहारिक, वस्तुवादी, योजनागत रुपमा लैजाने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘आजको यो भेलाबाट सहभागी कलाकारको उत्साहजनक उपस्थितिले प्रतिष्ठानलाई ऊर्जा मिलेको छ । यसबाट पा्राप्त सुझावहरुलाई हामी प्रज्ञिक रुपमा सदुपयोग गर्दै लैजानेछौं ।’