नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ भव्य रुपमा सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसर नक्सालमा कुलपति नारदमणि हार्तम्छाली र नेपाल आर्ट काउन्सिल बबरमहलमा उपकुलपति लालकाजी लामाले प्रदर्शनीको समापन गर्नुभएको थियो ।
जेठ १५ गते प्रतिष्ठानका संरक्षक तथा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उद्घाटन गर्नुभएको प्रदर्शनी जेठ ३० गतेसम्म चलेको थियो । प्रदर्शनीको अवलोकन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती (दुई पटक प्रदर्शनी अवलोकन), संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, कर्णाली प्रदेश प्रमुख तिलक परियार, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पूर्वमन्त्री हिसिला यमी, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, पूर्वराजदूत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पदाधिकारी, राष्ट्रिय संग्रहालयका पदाधिकारी, चलचित्रकर्मी, हाँस्यकलाकार, गायक–गायिका, रंगकर्मी, संस्कृतिकर्मी, विभिन्न विद्यालयका विद्यार्थी लगायतले अवलोकन भ्रमण गर्नुभएको थियो ।
‘म, मेरो देश र मेरो सिर्जना’ थिम अनुसार गरिएको यस वर्षको प्रदर्शनीमा नेपालका लागि इजरायलका राजदूत महामहिम Hanan Goder, नेपालका लागि ब्राजिलका राजदूत महामहिम CARLOS DEN HARTOG, नेपालका लागि बंगलादेशका राजदूत महामहिम Salahuddin Noman Chowdhury (Mr.) तथा Deputy Chief of Mission, Ishrat Jahan (Ms.), EMBASSY OF THE STATE OF QATAR IN NEPAL का CONSULAR, JABIR ABDULLA H. AL-ALI,नेपालका लागि Switzerland का महामहिम राजदूत Elisabeth von Capeller लगायतको पनि सहभागिता रहेको थियो ।
प्रदर्शनीको अवधिभर ‘अर्थतन्त्रमा ललितकलाको योगदान’, ‘थाङ्का÷पौभासम्बन्धी अन्तरक्रिया’, ‘पफर्मेन्स आर्ट’, ‘परम्परागत पौभा थाङ्का कलामा युवा’, ‘परम्परागत–समसामयिक मूर्तिकलाबीचको अन्तरसम्बन्ध’, ‘हस्तकलाका चुनौती र अवसर’, ‘Materiality and Mobilities in Contemporary Art’, ‘कलामा लैङ्गिक चुनौती’, ‘पुरस्कृत कलाकारहरुसँग अन्तरक्रिया’ लगायतका विषयमा समूहगत छलफलसमेत गरियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली प्रचार–प्रसारको दृष्टिमा यस वर्षको प्रदर्शनी राम्रो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मैले ललितकला के हो भनेर बुझ्न चाहने नयाँ अनुहारसहित सबैखाले मानिसको सहभागिता भने धेरै देखेँ । ललितकलाको लागि भन्दा पनि ललितकला समाजको लागि भन्ने हिसाबले जाने देखेँ ।’ हार्तम्छालीले यस प्रदर्शनीले ललितकलालाई उद्यमशीलतासँग जोड्नुपर्छ भन्ने सन्देश पनि दिएको जानकारी गराउनुभयो । उहाँले अहिलेको टिमको सकारात्मक स्पिरिटलाई अघि बढाइ निरन्तरता दिन जरुरी भएको जिकिर गर्नुभयो । उहाँले थप्नुभयो, ‘सामाजिक रुपान्तरण, देशको पहिचान, मौलिकता देखाउन कलाबाट पनि सकिने रहेछ भन्ने पूर्वाभास भएको छ । अब हामीले ललितकलामार्फत आन्तरिक आर्यआर्जनको परिपाटी बढाउनुपर्छ । यसका लागि सजिलोसँगै च्यालेन्ज पनि छ ।’ उहाँले ललितकलाका यस्ता विविध विषयलाई सम्बोधन गर्न प्रतिष्ठानले असारको १२ गते ‘राष्ट्रिय ललितकला सम्मेलन–२०८०’ गर्न लागेको जानकारी गराउनुभयो । हार्तम्छालीका अनुसार प्राज्ञिक क्षेत्रको हैसियत बढाउन सकियो भने अन्य बाटो पनि खुल्ला हुनेछ ।
उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का कार्यकारी संयोजक लालकाजी लामा प्रदर्शनी प्रतिष्ठानको महत्वपूर्ण कार्यक्रम भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मलाई भूमिका दिए पनि यो टिमवर्क हो । हामीले प्रदर्शनीलाई सहज रुपमा सम्पन्न ग¥यौं । उल्लेख्य सहभागिताले हौसला पनि थप्यो ।’
समग्र क्युरेटिङको पाटो विगतमा भन्दा परिवर्तन गर्दा कामको व्यवस्थापन र डिस्प्लेमा पृथकता भएको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘हामीले यस वर्ष नेपालको राष्ट्रगान र ‘म, मेरो देश र मेरो सिर्जना’ को थिममा कलाकृतिहरुलाई प्रदर्शनी गर्दा अवलोकनकर्तालाई बुझ्न सजिलो भयो ।’ यस क्षेत्रमा गरिएको लगानीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरुपमा दिने रिजल्ट फरक हुने बताउँदै उहाँले आगामी दिनमा प्रदर्शनीलाई अझ परिस्कृत ढंगले लैजाने बताउनुभयो ।
यस प्रदर्शनीमा ६०९ कलाकारका ६९५ कलाकृति राखिएको थियो । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५३ कलाकारका ७५५ कलाकृतिमध्येबाट यी कलाकृतिको छनोट गरिएको हो । जसअन्तर्गत समसामयिक चित्रकला विधामा २३४ जना कलाकारका २६९ कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ कलाकृति, समसामयिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकार २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ कलाकृति, कार्टुन विधामा १७ जना कलाकारका १७ कलाकृति, भावभङ्गी विधामा १२ जना कलाकारका १२ कलाकृति, क्यारिकेचर विधामा ४ जना कलाकारका ४ कलाकृति र डिजिटल विधामा ६ जना कलाकारका ७ कलाकृति रहेका थिए । यी कलाकृतिमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्, बबरमहल तथा समसामयिक चित्रकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, समसामयिक मूर्तिकला विधाका कलाकृतिहरु नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा राखिएको थियो । प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदिप शाक्यले गर्नुभएको थियो ।
यस वर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरियो । यसको राशी जनही १ लाख र ताम्रपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः नगेन्द्रप्रसाद पौड्याल र नारायणप्रसाद ढुंगानालाई प्रदान गरियो । यसको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान संगीता थापालाई प्रदान गरियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरियो ।
सासामयिक चित्रकला विधामा यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा रमेश कुँवर, टिकाराम राई र संगीता घिमिरे रहनुभएको थियो भने मूल्याङ्कन समितिमा मदन चित्रकार, रतनकुमार राई र एरिना ताम्राकार हुनुहुन्थ्यो ।
परम्परागत चित्रकला विधामा यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा बुद्ध योञ्जन लामा, रामप्रकाश श्रेष्ठ र उजय बज्राचार्य रहनुभएको थियो भने मूल्याङ्कन समितिमा मानबहादुर दोङ, उदयचरण श्रेष्ठ र रत्नगोपाल सिंख्वाल हुनुहुन्थ्यो ।
वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा अशोकमान सिं, सम्झना राजभण्डारी, सागर मानन्धर, विकास कार्की रहनुभएको थियो भने मूल्याङ्कन समितिमा हरिवंश किराँत, कुमार आले, मनिषलाल श्रेष्ठ र अविन श्रेष्ठ हुनुहुन्थ्यो ।
हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा उपेन्द्र बाराही, उसिना महर्जन र दिपेन्द्र शाक्य रहनुभएको थियो भने मूल्याङ्कन समितिमा रुद्रबहादुर बराइली, निलम ताम्राकार र धर्मराज शाक्य हुनुहुन्थ्यो ।
लोककला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योतिकुमारी सापकोटा कर्णलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा सरितादेवी मण्डल, कृष्णराज सर्वहारी र सुष्मा शाक्य रहनुभएको थियो भने मूल्याङ्कन समितिमा डा. गोपाल ठाकुर, सुबोधचन्द्र दास र मेरिना चित्रकार हुनुहुन्थ्यो ।
परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा राकेश अवाले, उत्तम शाक्य र रामभक्त महर्जन रहनुभएको थियो भने मूल्याङ्कन समितिमा सिंहराज तुलाधार, चन्द्रश्याम डंगोल र सिद्धिरत्न शाक्य हुनुहुन्थ्यो ।
समसामयिक मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार टिकाराम पौडेल (शशि किरण) र मिना कायस्थलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा भुवन थापा बहुवी, पूर्णकाजी शाक्य र सुनिता राणा रहनुभएको थियो भने मूल्याङ्कन समितिमा गोपाल कलाप्रेमी, पुष्पा शेरचन र राजु पिठाकोटे हुनुहुन्थ्यो । ‘म, मेरो देश र मेरो सिर्जना’ थिममा भएको यस वर्षको कला प्रदर्शनीको लोगो निर्माण गर्नुहुने कलाकार प्रा. राधेश्याम मूल्मीलाई ताम्रपत्रबाट सम्मान गरियो । पुरस्कृतमध्ये राष्ट्रिय ललितकला पुरस्कार पाउनुहुने कलाकारलाई जनही ५० हजार विद्वतवृत्तिको समेत घोषणा गरिएको छ ।
यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । त्यस्तै, कार्यक्रममा प्रतिष्ठानमा उत्कृष्ट कर्मचारीको सम्मान सविना पोखरेल र सुरेन्द्र गौतमलाई प्रदान गरियो ।
प्रदर्शनीको उद्घाटनका दिन नेपाल आर्ट काउन्सिलमा विशाल भट्टराईको धु्रपद गायन र निमेश कपालीको ताल सङ्गत प्रस्तुतिमा ‘धु्रवपदः रागालाप’ सांगीतिक कार्यक्रमसमेत राखिएको थियो ।
असार १२ गते आयोजना गरिन लागिएको ‘राष्ट्रिय ललितकला सम्मेलन–२०८०’ को सन्दर्भ पारेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने ५ जना पत्रकार÷सञ्चारकर्मीलाई रु ५ हजार र सम्मान–पत्र प्रदान गरिनेछ । त्यस्तै, बिएफए, एमएफए, एमफिल, पिएचडीमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरुबाट पहिलो, दोस्रो, तेस्रो र विशेष गरी ४ लाई समेत पुरस्कृत गरिनेछ ।