नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सङ्घ, प्रदेश तथा स्थानीय तहका भाषा, साहित्य, सङ्गीत, ललितकला, संस्कृति, नाट्यसँग सम्बन्धित प्रज्ञा–प्रतिष्ठान/परिषद्/समितिहरूको प्राज्ञिक भेला शुक्रबार(२०८० पुस १३ गते) नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको छ । भेलाको सङ्घका तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
भेलामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कुलपति नारदमणि हार्तम्छाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, उपकुलपतिहरु लालकाजी लामा, विमलकृष्ण श्रेष्ठ, शम्भु राई सदस्य सचिवत्रय देवेन्द्र कुमार काफ्ले थुम्केली, डा.धनप्रसाद सुवेदी र कुश्मा महरा ‘प्रगति’ तीनवटै प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरु, प्राज्ञसभा सदस्य, मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी भ्रमर(भर्चुअल),सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका साहित्य तथा भाषा विभाग प्रमुख सुरेन्द्र गुरुङ, भरतपुर प्रज्ञा–प्रतिष्ठान चितवनका उपकुलपति इन्द्रप्रसाद रेग्मी, बिर्तामोड भाषा,साहित्य, कला प्रतिष्ठानका अध्यक्ष भगवती ढुङ्गेल, सुनापति प्रज्ञा–प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङ, गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारी, महाङ्काल प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष रामसुन्दर केसी, नगर साहित्य कला तथा सङ्गीत प्रतिष्ठान रोल्पाका सल्लाहकार दीप डाँगी, गल्याङ प्रज्ञा–प्रतिष्ठानका का.बा. अध्यक्ष चण्डिकाप्रसाद भट्टराई, गैँडाकोट प्रज्ञा–प्रतिष्ठानका सदस्य रामहरि शर्मा, लालबन्दी नगर वाङ्मय परिषद्का सदस्य विप्रहरि दाहाल, बर्दघाट प्रज्ञा–प्रतिष्ठानका सदस्य मन गोल्डी, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका सदस्य डा.दीपेन्द्र पराजुली, दुधौली प्रज्ञा–प्रतिष्ठानका सल्लाहकार दिल पौडेल, रत्ननगर प्रज्ञा–प्रतिष्ठान चितवनका सदस्य कमल अर्याल, महालक्ष्मी नगरपालिकाको महालक्ष्मी साहित्य समाजका अध्यक्ष श्रीराम पौडेललगायतको सहभागिता रहेको थियो । भेलाले सहभागीहरूबिच छलफल तथा उहाँहरूको सुझावपछि निम्नअनुरूप ५ बुँदे ‘काठमाडौँ प्रज्ञा घोषणा २०८०’ पत्रसमेत जारी ग¥यो ।
काठमाडौँ प्रज्ञा घोषणा–पत्र २०८०
नेपालको सङ्घीय राजधानी काठमाडौँमा आज मिति २०८०/९/१३ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सङ्घ, प्रदेश तथा स्थानीय तहका भाषा, साहित्य, सङ्गीत, ललितकला, संस्कृति, नाट्यसँग सम्बन्धित प्रज्ञा–प्रतिष्ठान/परिषद्/समितिलगायतलाई समेटेर ‘प्राज्ञिक भेला २०८०’ को सम्पन्न गरियो । भेलामा सहभागीहरूबिच छलफल तथा उहाँहरूको सुझावपछि निम्नअनुरूप ५ बुँदे ‘काठमाडौँ प्रज्ञा घोषणा–पत्र २०८०’ जारी गरियो ।
१.२०८० साउन १३ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा पोखरामा सम्पन्न भएको प्रज्ञा भेलामा जारी भएको १० बुँदे (परिशिष्टमा संलग्न) घोषणा–पत्रलाई निरन्तरता दिँदै सो घोषणा–पत्रमा उल्लेख भएका विषयहरूलाई लागु गर्न पहल गर्ने ।
२.प्रदेश तथा पालिकास्तरका सांस्कृतिक संरचनाले भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकला, विज्ञान तथा प्रविधि विधालाई पनि अनिवार्य रूपमा समावेश गर्ने व्यवस्था मिलाउने ।
३.प्रदेश र पालिकास्तरका सांस्कृतिक संरचनाहरूको संरचनागत एकरूपता कायम गरी एकै प्रकारको कानुनी व्यवस्थासमेत कायम गर्नका लागि ऐनको मस्यौदा तयार पारी दुई महिनाभित्र तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिज्यू समक्ष मस्यौदा पेस गर्नेगरी निम्न अनुसार ७ सदस्यीय प्रदेश र पालिकास्तरीय सांस्कृतिक संरचना ऐन मस्यौदा समिति गठन गर्ने ।
क. शम्भु राई, उपकुलपति सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, संयोजक
ख. डा. धनप्रसाद सुवेदी, सदस्य सचिव, नेपाल प्रज्ञा–प्रतिष्ठान, सदस्य
ग. डा. टीएन जोशी, उपकुलपति, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, सदस्य
घ. प्रदीप अधिकारी, प्राज्ञपरिषद् सदस्य, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सदस्य
ङ. सुरेन्द्र गुरूङ, परिषद् सदस्य, गण्डकी प्रज्ञा–प्रतिष्ठान, सदस्य
च. भगवती ढुङ्गेल, साहित्य,कला, सङ्गीत, कला प्रतिष्ठान बिर्तामोड, सदस्य
छ. दीप डाँगी, रोल्पा नगर साहित्य, कला, सङ्गीत, प्रतिष्ठान, रोल्पा, सदस्य
४. कानुनको मस्यौदा निर्माण गर्दा प्रदेशस्तरका प्रज्ञा–प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र प्राज्ञसदस्य रहने र पालिकास्तरका संरचनामा अध्यक्ष, उपाध्यक्ष, सदस्य सचिव र सदस्य रहेको पदीय संरचना हुने गरी व्यवस्था गर्ने । यसरी संरचना गठन गर्दा सबै पदहरू स्रष्टाहरूबाटै मनोनयन गर्ने व्यवस्था गरी जनप्रतिनिधिलाई प्रमुख संरक्षक र संरक्षक पदमा राख्ने व्यवस्था गर्ने । साथै, मस्यौदा निर्माण गर्दा प्रदेश र स्थानीयस्तरका सांस्कृतिक संरचनाहरूलाई सङ्घीय प्रज्ञा–प्रतिष्ठानहरूसँग समन्वयको व्यवस्था मिलाउने ।
५. माथि उल्लिखित मस्यौदा तयार भएपछि सङ्घीयस्तरका तीनवटै प्रज्ञा–प्रतिष्ठानको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पहल गरी कानुनी एकरूपताका लागि मस्यौदालाई प्रदेश र स्थानीयस्तरमा पठाउने व्यवस्थाका लागि पहल गर्ने ।
 
परिशिष्ट
‘प्रज्ञा पोखरा घोषणापत्र २०८०’
नेपालको सुन्दर नगर पोखरामा मिति २०८० साउन १३ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सम्पन्न नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान, गण्डकी प्रज्ञा–प्रतिष्ठान तथा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद् तथा प्राज्ञ सभाका सदस्यहरूको सहभागितामा भएको भेलाबाट १० बुँदे ‘प्रज्ञा पोखरा घोषणापत्र २०८०’ जारी गरेका छौँ ः
(१) सबैभन्दा महत्त्वपूर्ण विषयका रूपमा रहेको प्राज्ञिक क्षेत्र (सांस्कृतिक सत्ता) को मर्यादालाई राजनीतिक तथा प्रशासनिक क्षेत्रले नजरअन्दाज गरेको देखिन्छ । सांस्कृतिक सत्ता नै सबै क्षेत्रको प्रमुख र आधारभूत अङ्ग हो । यसैले सांस्कृतिक क्षेत्रसँग जोडिएको प्राज्ञिक मर्यादासँग देशकै मर्यादा जोडिएको हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ र प्राज्ञिक क्षेत्रलाई राज्यले हेर्ने अहिलेको दृष्टिकोण बदल्न आवश्यक छ । हाल प्रचलनमा रहेको (गृहमन्त्रालयबाट जारी मर्यादाक्रम, २०७६) मा प्रज्ञा–प्रतिष्ठानहरूका कुलपति तथा उपकुलपतिको मर्यादाक्रम प्रज्ञा–प्रतिष्ठान ऐन, नियमावली तथा अन्य प्रचलित कानुनअनुसार छैन भने प्राज्ञहरूको मर्यादाक्रम स्पष्ट छैन । त्यसैले प्राज्ञिक गरिमा कायम हुनेगरी मर्यादाक्रम निर्धारण गरिनुपर्छ । सबै तहका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम राज्यका अन्य निकायहरूको सोपान व्यवस्थाअनुसार कायम हुनुपर्दछ ।
(२) हालसम्म पनि संस्कृति (भाषा, साहित्य, ललितकला, सङ्गीत नाट्य) नीति स्पष्ट छैन । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट स्थापित परिवर्तनको मर्मलाई आत्मसात् गरी संस्कृति नीति बनाउनुपर्ने ।
(३) देशको विविधता, मौलिकता र सामाजिक–राजानीतिक परिवर्तनको मर्म र सौन्दर्यलाई आत्मसात् गरी नेपालका सबै भाषा, संस्कृति, ललितकला, सङ्गीत, दर्शन, रैथाने ज्ञान, सिपको सैद्धान्तीकरणसहित तिनको संरक्षण, संवर्धन र विकासमा जोड दिँदै प्राज्ञिक निकायको पुनर्संरचनामा जोड दिने ।
(४) परिवर्तित सन्दर्भमा प्रदेश र स्थानीय तहमा पनि प्राज्ञिक संरचना (प्रतिष्ठान, समिति, परिषद् आदि) बनेका र बन्ने क्रममा छन् । संविधानले प्रदत्त गरेका अधिकारको उपयोग गर्दै प्रदेश तथा स्थानीय तहमा प्राज्ञिक संरचनाहरू बनाउनु स्वाभाविक र खुसीको कुरा पनि हो । प्रदेश र स्थानीय तहका प्राज्ञिक संरचनाहरूको संरचनात्मक ढाँचा, मर्यादाक्रम, सेवा, सुविधामा एकरूपता नहुँदा अनेक किसिमका जटिलता सिर्जना हुने देखिन्छ । त्यसैले सम्भव भएसम्म प्रदेश तथा स्थानीय तहका सबै प्राज्ञिक संरचनाहरूका बिचमा एकरुपता कायम गराउन पहल गर्ने ।
(५) प्रज्ञा–प्रतिष्ठानहरूलाई प्राप्त बजेट अत्यन्तै न्यून र अपर्याप्त छ भने भौतिक संरचनाको अभाव रहेको छ । त्यसैले अनुसन्धान, सिर्जना, प्रकाशन लगायतका प्राज्ञिक कार्य गर्नका लागि यथोचित बजेटको व्यवस्थाका साथै आवश्यक भौतिक संरचना निर्माण गर्नका लागि सरकारले ध्यान दिनुपर्दछ ।
(६) स्रष्टाहरूको औषधी उपचारका लागि राज्यले विशेष व्यवस्था गर्ने । स्रष्टाहरूको स्वास्थ्योपचारका लागि केन्द्र, प्रदेश तथा स्थानीय तहमा अक्षयकोष निर्माणका लागि सम्बन्धित सरकारसमक्ष आग्रह गर्ने ।
(७) स्रष्टा परिचयपत्रलाई व्यवस्थित गर्दै एकरुपता कायम गर्ने ।
(८) केन्द्र, प्रदेश तथा स्थानीय तहका प्राज्ञिक निकाय बिचको सम्बन्ध सेतुका आधारहरू निर्माण गर्दै सहकार्य गर्ने ।
(९) संस्कृति, ललितकला, साहित्य, सङ्गीतसँग सम्बन्धित कच्चा पदार्थ ∕ सामग्री, कलाकृति, पुस्तकहरूको बिक्री, वितरणमा भन्सार तथा अन्य कानुनी प्रावधानका कारण विभिन्न किसिमका समस्या र झन्झट बेहोर्नु परेको छ । अनावश्यक प्रक्रियागत झन्झट हटाउनु पर्ने ।
(१०) भाषा, साहित्य, ललितकला, नाट्य, सङ्गीत, दर्शन आदि क्षेत्रमा विद्यमान मौलिक तथा रैथाने ज्ञान परम्परालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्ने । यस्ता पाठ्यक्रमहरू निर्माण गर्दा विश्वविद्यालय तथा पाठ्यक्रम विकास केन्द्रहरूले प्रज्ञा–प्रतिष्ठानहरूसँग समन्वय गर्नुपर्ने ।
भूपाल राई, कुलपति नेपाल प्रज्ञा–प्रतिष्ठान
नारदमणि हार्तम्छाली, कुलपति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान
शम्भु राई, उपकुलपति नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान
लालकाजी लामा, उपकुलपति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान
सूर्य खडका बिखर्ची, कुलपति गण्डकी प्रज्ञा–प्रतिष्ठान
डा. धनप्रसाद सुवेदी, सदस्य सचिव, नेपाल प्रज्ञा–प्रतिष्ठान
देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, सदस्य सचिव नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान
कुश्मा महरा ‘प्रगति’ सदस्य सचिव, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान
गोरे गुरुङ, उपकुलपति गण्डकी प्रज्ञा–प्रतिष्ठान
डा. टी.एन. जोशी, उपकुलपति सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान
सौरगङ्गा दर्शनधारी, प्राज्ञ परिषद् सदस्य, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान
मनकुमार श्रेष्ठ, सदस्य सचिव गण्डकी प्रज्ञा–प्रतिष्ठान
चेतनाथ धमला प्राज्ञ सभा सदस्य नेपाल प्रज्ञा–प्रतिष्ठान
नारायण मरासिनी प्राज्ञ सभा सदस्य नेपाल प्रज्ञा–प्रतिष्ठान
राधिका कँडेल प्राज्ञ सभा सदस्य नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान