नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा शुक्रबार ‘पौभा–थाङ्का सम्बन्धी अन्तरक्रिया तथा कार्यपत्र प्रस्तुति’ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, लोककला विभाग प्रमुख प्रदिप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोलगायत पौभा–थाङ्कासम्बन्धी कलाकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अग्रज कलाकार पूर्णप्रसाद ह्योजुले ‘परम्परागत (पौभा/थाङ्का) लेखनको शास्त्रीय विधि’ को विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै पूर्णप्रसाद ह्योजुले परम्परागत चित्र सिर्जना गरिने शास्त्रीय विधि, विधान, परम्परागत लेखन विधि, प्रयोजन, फल साथै देवदेवीको आसन, गहना, अयूध, मूद्रा र भाव लगायतका विविध विषयवस्तुहरुको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यपत्रमाथि सुनिल शाक्यले टिप्पणी गर्नुभएको थियो । शाक्यले थाङ्का पौभाको विषयमा बृहत्तर छलफल तथा विचार विमर्शको आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘थाङ्का पौभा भनेको प्रतिमा हो, देवदेवी हो । एउटा कालिगढले पौभा, मूर्ति बनाए जसको वेस पत्र र कपडा हो । यसलाई दर्शन र धर्म भनेर बुझिन्छ भने दर्शन र धर्मलाई आस्था र विश्वास भनेर बुझ्न सकिन्छ । जुन नियम तथा विधानमा बाँधिएको हुन्छ । यस कलामा रेखाको समायोजन नै कला हो र रेखा भनेको श्वास फेरे जसरी कोरिनु पर्छ ।’
यसैगरी मिङमा लामाले ‘वर्तमान समयमा थाङ्का लेखनमा युवा जनशक्तिको अभाव’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा चित्रकलामा थाङ्को विकासक्रम, धार्मिक महत्त्व, अर्थ आर्जनमा थाङ्का, थाङका कलामा महिलाको सहभागिता, थाङ्काको विगत र बर्तमान अवस्था, युवाको रुचि र अवस्था लगायतका विषयमा चर्चा गर्नुभएको थियो । त्यसैगरी, कार्यपत्रमाथि बुद्ध योञ्जनले टिप्पणी गर्नुभएको थियो । योञ्जनले मिङमाले प्रस्तुत गर्नुभएको कार्यपत्रलाई परिमार्जन गर्दै अझ राम्रो बनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘थाङ्काभित्र भाषा छ, त्यसमा प्रयोग गरिने रङको तत्व, प्रयोग गरिने सामग्रीको आफ्नै भाषा छ । यी भाषाहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’
कार्यक्रममा बोल्दै सदस्य सचिव देवेन्द्र थुम्केलीले ‘अन्तरक्रियामा उठेका विषयलाई आगामी दिनमा छलफल गर्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘परम्परागत कलाले एउटा महत्वपूर्ण स्थान लिएको छ र विश्वमा पनि पहिचान बनाउन सफल बनेको हुनाले यसलाई सैद्धान्तिकरण गर्दै यसको विकासका निम्ति गहन ढंगले काम गर्नुपर्छ ।’
कार्यक्रमको समापन गर्दै विभागीय प्रमुख पाल्साङमो लामाले जटिल विषयलाई लिएर सहज ढंगले कार्यपत्र प्रस्तुत गरेकोमा कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता र सहभागी सबैप्रति आभार प्रकट गर्नुभयो । उहाँले थाङ्का कलाको आफ्नै विधि र नियम हुने भएकाले यस्ता विषयमा छलफल तथा बहस गर्ने कुरालाई आगामी दिनमा निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा प्राज्ञ सभासदस्य सुन्दर स्विख्वालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।