नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा शुक्रबारबाट पफर्मेन्स आर्ट वर्कसप सुरु भएको छ । नेपालमा भर्खरै बामे सर्दै गरेको यस कलामा नयाँ पुस्तालाई संलग्न गराउने उद्देश्य राखेर गरिएको यस कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यशालाको पहिलो दिनको कार्यक्रममा बोल्दै वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले राष्टिय कला प्रदर्शनी वर्षैपिच्छे भइराखेको तर पफर्मेन्स आर्टिस्ट कम सहभागी हुने भएकाले उनीहरुलाई जागरुक गराउन यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले यसरी कार्यशालामा सहभागी हुन थालियो भने पछिल्ला दिनमा अझ राम्रो हुने धारणा राख्नुभयो ।
कलाकार मनिषलाल श्रेष्ठले राष्टिय कला प्रदर्शनीमा सहभागिता नहुने भएकाले पफर्मेन्स आर्ट राखेर हुन्न भन्ने कलाकारलाई लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पफर्मेन्स आर्ट महत्वपूर्ण एक्सप्रेसिभ प्रयाक्टिस हो । यो के को लागि हो भने राम्रो प्रिजेन्टेसनको लागि, पावरफुल प्रिजेन्टेसनको लागि ।’ कलाकार मुना भडेलले प्रतिष्ठानमा पहिलोपटक आएर यस कार्यशालामा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै नयाँ कुरा सिक्न पाइन्छ भनेर आफू आएको धारणा राख्नुभयो । कलाकार निर्विता शाक्यले धेरै कलाकारलाई समेत यो विषयमा थाहा नभएको बताउनुभयो । उहाँका अनुसार यसको बारेमा बुझ्न चाहने मान्छे पनि कम रहेको उहाँको भनाइ छ । कलाकार सुशान्तश्री राजभण्डारीले आफु अनुभव बटुल्न यस कार्यशालामा सहभागी भएको बताउनुभयो । कलाकार श्रीमिला श्रेष्ठले आफुलाई यस विषयमा बुझ्न मन लागेर आएको बताउनुभयो । कलाकार सरिना लामिछानेले यसभन्दा अघि पफर्मेन्स आर्ट पहिला नदेखेको र सिक्ने र हेर्ने अवसर एकैपटक पाइएकोमा खुसी लागेको बताउनुभयो । लोककला विभाग प्रमुख प्रदीप अधिकारीले पफर्मेन्स आर्टलाई पब्लिकसम्म लिएर जाने, व्यक्तिगत रुपमा भन्दा सामूहिक रुपमा गर्दा नयाँ आइडिया आउने धारणा राख्नुभयो । उहाँले समग्र आर्टस्मा पफर्मेन्स आर्ट के हो भनेर बुझाउन जरुरी भएको बताउनुभयो । संस्कृति र संस्कारसँग जोडिएका विषय पनि यसमा जोड्न सकिएमा अझ प्रभावकारी हुने जिकिर गर्नुभयो । हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले रंगमञ्च र नाटकघरसँग पनि सहकार्य गरेमा राम्रो हुने बताउनुभयो । पफर्मेन्स आर्टको विषयमा पहिलेभन्दा अहिले राम्रो हुँदै गएको उहाँको भनाइ छ । कलाकार पृथ्वी श्रेष्ठले पफर्मेन्स आर्टमा यो गर्नुहुन्छ यो गर्नुहुँदैन भन्दा पनि प्रिजेन्टेसन कसरी गर्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो । यसलाई उहाँले सिकाउनेभन्दा पनि सेयर गर्ने विषय भएको धारणा राख्नुभयो । कल्चर र कन्सेप्ट फरक हो भन्ने कुरा बुझ्न उहाँको आग्रह थियो । कलाकार रविन्द्र श्रेष्ठले आफूले कन्सेप्ट बेसमा काम गर्ने र ६ महिनापछि के गर्ने भन्ने थाहा नहुने बताउनुभयो । आफूलाई यस विषयमा धेरै कुरा थाहा नभए पनि यस कार्यशालामा केही कुरा सिक्न आएको धारणा राख्नुभयो । उपकुलपति लालकाजी लामाले यस विषय जटिल भएको बताउनुभयो । उहाँले आफूलाई पनि पफर्मेन्स आर्ट गर्न मन लागेको बताउँदै समाजमा भएको घटनालाई लिएर नयाँ हिसाबले प्रस्तुत गर्ने हिसाबले यो आर्ट फर्म नेपालमा भित्रिएको धारणा राख्नुभयो । यो नयाँ शैलीलाई हाम्रो देशमा पनि गर्दै अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कुलपति नारदमणि हार्तम्छालीले पफर्मेन्स आर्ट हेर्दा पनि जटिल भएको तर सबै कलाले दिने कुरा पनि यसले दिने जिकिर गर्नुभयो । उहाँले मानिसको पूरा जीवन नै पफर्मेन्स आर्ट भएको बताउँदै अहिले त्यसलाई सुत्रबद्ध तरिकाले प्रस्तुत गर्ने कला नै पफर्मेन्स आर्ट भएको धारणा राख्नुभयो । ‘यो खडेरीमा कलाको बीउ हो तपाईहरु’, उहाँले भन्नुभयो । यस विषयमा प्रतिष्ठानले नयाँ पुस्ताका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
२८ गतेसम्म चल्ने यस कार्यशालामा कलाकार मनिषलाल श्रेष्ठ, रविन्द्र श्रेष्ठ, पृथ्वी श्रेष्ठ, मुना भडेल, निर्विता शाक्य, मुना भडेल, सुशान्तश्री राजभण्डारी, श्रीमिला श्रेष्ठ, सरिना लामिछाने सहभागी हुनुहुन्छ । जसअन्तर्गत शुक्रबार बेसिक बडी मुभमेन्ट एक्सरसाइज, कन्सेप्ट डेभलपमेन्ट एक्सरसाइज शनिबार प्रिजेन्टेसन अन पफर्मेन्स आर्ट, प्रिजेन्टेसन अन नेपाल पफर्मेन्स आर्ट, क्यु एन्ड ए कन्सेप्ट होमवर्क, आइतबार कन्सेप्ट डिस्कसन, एक्सरसाइज कन्सेप्ट र सोमबार फाइनल प्रिजेन्टेसन रहेको छ ।