नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा ‘नेपाली हस्तकलाजन्य वस्तुको उत्पादन एवम् बजारीकरणको समस्या तथा चुनौती’ अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र थुम्केली, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, हस्तकला महासंघका उपाध्यक्ष नवीन शाक्य, नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य रुद्र बहादुर बराइली, प्राज्ञसभा सदस्य प्रदीप शाक्य, कलाकार श्याम बदन श्रेष्ठ, निलम ताम्राकार, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका सदस्य सचिव थुम्केलीले नयाँ टिम आएपश्चात सरकारी निकाय, संघसंस्थासँग प्रतिष्ठानले नियमित छलफल गरिरहेको बताए । उनले कला र कलासँग जोडिएका विषयलाई सहजीकरण गर्न आफूहरु सधै तयार रहेको धारणा राखे । उनले भने, ‘सरकारले राष्ट्रिय स्टार्टअप नीतिलाई अध्ययन गरेर समयमै आवश्यक पहल गरौँ । यस पहलले नीतिगत समस्या तथा प्रवद्र्धनको क्षेत्रमा गाँठो परेका विषयलाई फुकाउन सहयोग मिल्ला ।’
कार्यक्रममा बोल्दै हस्तकला महासंघका उपाध्यक्ष नवीन शाक्यले सरकारले मागेका बखत बेला बेलामा महासंघले सल्लाह सुझाव दिने गरेको उल्लेख गर्दै हस्तकलाले राष्ट्रको अर्थतन्त्रमा ठुलो सहयोग पुर्याएको बताए । उनले भने, ‘हाम्रा चुनौती धेरै छन् । सबभन्दा ठुलो चुनौती भनेको नीति मै छ । नीतिमै सबै विषयहरु समेटिनुपर्छ ।’ उनले हस्तकलाको क्षेत्रमा कच्चापदार्थको समस्या रहेको कुरा उल्लेख गरे । ‘हामीले सरकारलाई कर तिर्छौँ तर सरकारले हामीलाई सुविधा पनि दिन सक्दैन् कच्चापदार्थ सहजै पाइँदैन् । कच्चापदार्थको काम गर्न विदेशबाट ढुंगा ल्याउनुपर्छ । कति लज्जाको कुरा छ,’ उनले थपे । हाम्रा पुराना प्रविधि जोगाउनु पनि अहिलेको मुख्य चुनौती भएको उनको जिकिर थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य रुद्र ब. बराइलीले नेपाल विविध हस्तकलाको धनी भएको धारणा राखे । उनले भने, ‘विश्वका धेरै देशलाई थाहा छ । नेपाल एक कलात्मक मुलुक हो ।’ उनले राज्यको ठुला पदमा बसेकाहरुले देशको उत्पादनप्रति गहिरिएर नसोचेको गुनासो व्यक्त गरे । ‘झण्डै ६० लाख युवाशक्ति विदेशमा पलायन भएका छन् । त्यसलाई उपयोग गर्न सकेमा के हुन्छ ?’ उनले प्रतिपश्न गरे ।
अमर ह्यान्डीक्राफ्टका संयोजक अमर ब. विश्वकर्माले दक्षिण एसियामा प्रचुर सम्भावना भएको देशको रुपमा नेपाल चिनिएको भएता पनि हाम्रो देशमा बनेका कलाहरुको परिचय विदेशमा गएर लिनुपर्ने बिडम्बना रहेको बताए । उनले भने, ‘तामा, पित्तल, सुन, चाँदी, फलाम । यी धातुलाई व्यवस्थित ढंगले चलाउन सक्ने हो भने र यसलाई राज्यले बोध गरिदिने हो भने पचासौं लाख युवालाई रोजगारी दिन सकिन्छ ।’ उनले कालीगढ र उनीहरुको कामको रेकर्ड राज्यसँग नभएको बताउँदै उनीहरु यस क्षेत्रबाट पलायन भएर विदेश पुगेको विषय चिन्ताजनक भएको बताए ।
सरोजदिलु विश्वकर्माले रैथाने कला र सीपको संरक्षणमा जोड दिए । उनले भने, ‘मैले मेरो बाउको पेसा छोड्न नहुने रहेछ । डिग्री पास गरेर मात्र नहुने रहेछ । सीप त अर्थतन्त्रसँग पो जोडिने रहेछ ।’ बिनायो, मुचुंगा, ठेकी अहिलेको पुस्ताले बिर्सिँदै गएको बताउँदै उनले प्लास्टिकका सामानको प्रयोग बढेकोमा चिन्ता व्यक्त गरे । रैथाने कला र सीपको प्रवद्र्धन र संरक्षणका लागि ग्लोबल नेटवर्क बनाउन सुझाव दिँदै उनले विदेशी कालीगढ नेपालमा भित्रिरहँदा नेपाली कालीगढ भने बाहिरिएको र त्यसलाई रोक्न बेलैमा पहल गनुपर्ने धारणा राखे । कलाकार श्याम बदन श्रेष्ठले नेपालमा सीप र ज्ञान दुवै भए पनि त्यसलाई अभिलेखीकरण गर्न नसकिएको बताइन् । चन्द्रकला ज्वेलरीका रमेश सुनारले यस क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन र रोजगारी दिन ठुलो सहयोग पुर्याइरहेको बताए । प्राज्ञसभा सदस्य प्रदीप शाक्यले हस्तकलासँग सम्बन्धित विषयलाई फरक ढंगले हेर्नुपर्ने धारणा राखे । उनले कपिराइट, इन्टेसिभ तथा पोलिसीको बारेमा चर्चा गरे । उपकुलपति लालकाजी लामाले माथि उल्लेखित समस्या हस्तकलाको मात्र नभइ सबै कलाकारको साझा समस्या भएको बताउँदै यसको उत्थानका लागि सबै मिलेर संघर्ष गनुपर्ने बताए । कुलपति नारदमणि हार्तम्छालीले हस्तकला र ललितकलालाई पृथक ढंगले बुझ्नुपर्ने धारणा राखे । उनले प्रतिष्ठान स्थापना भएको १२ वर्ष नाघिसक्दा पनि कलाकारको सर्भे हुन नसकेको बताए । हस्तकलाको विकासका लागि प्रचार प्रसार र प्रतिष्ठानका प्रकाशनमा हस्तकला विषय समावेश गर्न जरुरी रहेको उनको धारणा छ । हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले अन्तरक्रियात्मक कार्यक्रमले मात्र समस्या समाधान नहुने बताइन् । उनले भनिन्, ‘भुइँचालो, कोभिड पछि हस्तकला व्यवसायी पलायन भएका छन् । अब बिस्तारै उकालो लाग्नुपर्छ । प्रतिष्ठानले पनि सरकारी स्तरमा आफुले गर्न सक्ने काममा पहल गर्नेछ ।’ कार्यक्रमको सञ्चालन भने महिन्द्र सुनारले गरेका थिए ।