नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा ‘नेपाली ललितकला क्षेत्रमा संघसस्था तथा ग्यालरीहरुले खेलेको भुमिका तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम आइतबार (भदौ १० गते) सम्पन्न भएको छ । कुलपति नारदमणि हातम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपकुलपति लालकाजी लामा सदस्य सचिव देवेन्द्रकुमार काफले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सदस्य सचिव देवेन्द्रकुमार काफले ‘थुम्केली’ ले नीतिगत रुपमा गर्नुपर्ने कामलाई पहिचान गरी योजनाबद्ध ढंगले अगाडि बढ्न सबैको ज्ञान, विवेक, अनुभवलाई लिएर ललितकलासँग सम्बन्धित संघसस्था तथा ग्यालरीसँग सहकार्य गदै अगाडि बढ्ने बताउनु भयो । उहाँले प्रतिष्ठानले तयारी गरिरहेको प्रादेशिक प्रदर्शनीको मोडेलका बारेमा लिखितरुपमा सुझाव दिनसमेत सबैलाई आग्रह गर्नुभयो । प्राज्ञसभा सदस्य जुपिटर प्रधानले कार्यक्रममा नेपाली कला क्षेत्रमा ‘संघसंस्था र ग्यालरीको भूमिका र चुनौती’ विषयक अवधारणपत्र प्रस्तुत गर्नुभयो । उहाँले राणाकालदेखि अहिलेसम्म आएका संस्थाहरु कलाकारले नै स्थापना गरेको बताउनुभयो ।
यस्तै, उक्त कार्यक्रमा नेपाल आर्ट काउन्सिलका महासचिव विकासरत्न धाख्वाले कलाकारको लागि बजार नै ठूलो कुरा भएको बताउनुभयो । उहाँले प्राइभेट र सरकारी क्षेत्रबीच सहकार्य गरी कलाक्षेत्रको विकासका लागि पहल गर्नुपर्ने बताउनुभयो । मोनाका सञ्चालक राजन शाक्यले नाफाले गर्ने काम नीति निर्माण तहको भएको बताउनुभयो । उहाँले कुनै पनि संघसंस्थाले एउटा कलाकृति किन्न नै पर्ने वातावरण बनाउनुपर्ने बताउन भयो । पार्क ग्यालरीका नविन जोशीले कलाको क्षेत्रमा सही स्थानमा लगानी गर्न जरुरी भएको बताउनुभयो । विकल्प आर्ट सेन्टरका सरोज महतो कुसवाहले नाफाले गरेको छलफलको काम राम्रो भएको बताउनुभयो । अरुपण आर्ट ग्यालरीका रमेश खनालले कला क्षेत्रमा सुधार गर्नुपर्ने कुरा धेरै भएको बताउनुभयो । उहाँले नेपाली कलाकारका विदेशमा विश्वभरी प्रदर्शनी गर्न वातावरण बनाउनुपर्ने क्युरेटर जन्माउनु पर्ने, सक्रिय र निस्क्रिय ग्यालरी छुट्याई नवीकरण गर्नुपर्नेजस्ता कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो । कलाप्रेमी समूहका गौतमरत्न तुलाधारले चित्रकला, नृत्यकला वाद्यकला विधालाई एकै ठाउँमा जोडनुपर्ने बताउनुभयो । तारागाउँ म्युजियमका रोशन मिश्रले नाफाबाहेकका संस्थासँग कसरी काम गर्न सकिन्छ भन्ने कुराको पोलिसी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न तवरले चलेको संस्थाहरु छुट्टाएर एउटा कार्यविधि बनाउनुपर्नेमा जोड दिनुभयो । डेटा बैकसँगै उहाँले नेपालभरी कति संघसंस्था तथा आर्ट ग्यालरीहरु छन् भनेर एकिन गर्नुपर्ने बताउनुभयो ।
मिथिला यें आर्ट ग्यालरीका श्यामसुन्दर यादवले पुर्खादेखि बनेर आएका कलात्मक चित्रहरु लोप हुने अवस्थामा पुगेकोले त्यसलाई संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । नेपाल कमर्सियल आर्टिस्ट संघका चित्रबहादुर कार्कीले नाफाले आर्टस् भनेको यो खालको हो भनेर नेपाल सरकारलाई बताउनुपर्नेमा जोड दिनुभयो । उहाँले ललितकलाको बजारीकरणसम्बन्धी काम गरी बिक्री वितरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । सिर्जना आर्ट ग्यालरीका शरद रञ्जितले ठाउँ अनुसार संस्थाहरु भएको र राष्ट्रिय स्तरमा के–कस्ता संस्थाहरु छन् पहिचान गरेर अगाडि बढनुपर्ने बताउनुभयो । स्पेक्ट्रमका इन्द्र्र श्रेष्ठले ललितकलालाई व्यवसायिकतामा कसरी जान भनेर सोच्नुपर्ने बताउनुभयो । लाइन्स क्लब अफ फाइन आर्टका किरण सिंगुले कार्यशाला गर्दा कलाकारलाई मूल्य दिनुपर्ने बताउनुभयो । आर्ट वुमका रत्न शाक्यले नाफा अभिभावक संस्था भएकाले सबैकुरा अपडेट राख्नपर्ने बताउनुभयो । आरम्भका सुदर्शन राणाले मूर्तिकलाका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको म्युजियम नाफाले कन्ट्रोल गर्नुपर्ने बताउनुभयो । कुलपति नारदमणि हातम्छालीले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै नेपालीपनको चित्र भनेर बुझाउन सक्ने अवस्था अहिलेसम्म नभएको बताउनुभयो । उहाँले कला, संस्कृति, वर्गीय, समाजिक विभेदमा कलाकृति बन्नुपर्नेमा जोड दिँदै १२ वर्षमा कोठामा बसेर बनाएका कलाकृतिले सामाजिक परिवर्तनमा चुनौती दिएको बताउनुभयो ।