नेपाल ललिकतला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागद्वारा आयोजित दुई दिने ‘क्यालिग्राफी आर्ट वर्कसप’ समुद्घाटन मिति २०८० असार ६ गते बुधबारका दिन प्रतिष्ठानका उपकुलपति लालकाजी लामाबाट सम्पन्न भयो । समुद्घाटन समारोहमा प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख प्राज्ञ सौरगंगा दर्शनधारी, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, विशेष अतिथिको रुपमा अग्रज कलाकार अशोकमान सिं तथा अग्रज राधेश्याम मुल्मी साथै सहभागी कलाकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै विभागीय प्रमुख सौरगंगाा दर्शनधारीले यस कार्यक्रम गर्न पाउँदा खुसी लागेको र विभिन्न ठाउँ तथा विधाबाट आएर यस कार्यशालामा भाग लिनुभएकोमा सबैमा धन्यवाद व्यक्त गर्नुभयो । विशेष अतिथि अग्रज कलाकार अशोकमान सिंले क्यालिग्राफी आफैमा अक्षरकला तथा आफैमा आकर्षण पनि हो । क्यालिग्राफीलाई कुनै पनि अप्लाइड डिजाइनमा प्रयोग गर्न सकिन्छ । यस कलाको प्राविधिक जानकारी भएमा यसलाई रचनात्मक कलाको रुपमा प्रयोग गर्न सकिने धारणा राख्नुभयो । त्यसैगरी विशेष अतिथि अग्रज कलाकार राधेश्याम मुल्मीले क्यालिग्राफी एक प्रकारको लेखनकला भएको बताउँदै यसमा एउटा अक्षरलाई नै कति तरिकाले लेख्न सकिन्छ भनेर जानकारी गराउनुभयो । उहाँले यस विषयलाई पनि एउटा अनुसन्धानका रुपमा अगाडि लानुपर्छ भनेर बताउनुभयो ।
क्यालिग्राफीसम्बन्धी कार्यपत्र प्रस्तुतकर्ता विजय महर्जनले यस कलालाई कमर्सियलसँगै ललितकलामा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाले क्यालिग्राफी कलाको उत्पत्ति करिब ४००० बर्षअघि चीनबाट भएको बताउँदै विस्तारै एसियामा फैलिँदै गएको जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि लालकाजी लामाले प्रविधिको विकाससँगै क्यालिग्राफीजस्ता कलाले धेरै चुनौतीहरु भोगिरहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यस कलामा मानवीय चेतनाको धेरै आवश्यक हुने र कस्तो फन्ट बनाउने, कसरी डिजाइन गर्ने साथै भाव र सौन्दर्य पनि समेटिएको हुन्छ ।’