बहसमा अवधी लोककला
कपिलवस्तु । अवध क्षेत्रमा प्रचलित अवधी लोककलाका विषयमा बहस गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजनामा कपिलवस्तुको तिलौराकोटमा शुक्रबार एकदिने ‘लोककला अन्तरक्रियात्मक कार्यक्रम’ गरिएको हो । अवधी कलाकार रामदयाल ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा विशेष अतिथि तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीसँगै कलाकार मन गोल्डी, एचबी रम्तेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोककला विभाग प्रमुख अधिकारीले लोककलाको इतिहास समाजको उत्पत्तिदेखि नै समूहमा बस्दाबस्दै दैनिक उपयोगको अभ्यासलाई सहज बनाउन सुरु भएको बताए । उनले भने, ‘अरु कलाभन्दा यो कला पछाडि पर्नुमा यसको उपेक्षा गरिएको देखिन्छ । सरकारी तथा कलाकार स्वयम्लाई रैथाने कला र संस्कृतिप्रति माया नहुनु पनि अर्को मुख्य कारण हो ।’ आगामी समयमा यसको विकासमा कलाकार र सम्बन्धित संघसंस्थाले खेल्ने भूमिका नै महत्वपूर्ण हुन्छ । ‘ललितकला प्रतिष्ठानको प्रयास भनेको फुल्दै गरेको फूललाई फक्रन सहयोग गर्दै ओइलाएका फूलमा मलजल गर्नुपर्ने आवश्यकता रहेको छ,’ उनले थपे ।
कार्यक्रममा कलाकार मन गोल्डीले ‘अवधी लोककला’ को बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अवधी लोककलाको वर्तमान अवस्था सन्तोषजनक नरहेको बताउँदै ती कलाकारको स्थितिको बारेमा चर्चा गरेका थिए । त्यहाँका कलालाई उत्थानका लागि स्थानीय, प्रदेश र संघले उचित ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कलाकार रामदयाल ठाकुरले ठुला ठुला पदमा रहेका कला व्यक्तित्वले भ्रमण गरे तापनि त्यहाँको कलाको अवस्था भने जस्ताको तस्तै रहेको बताए । उनले भने, ‘जातजातिको कला नै लोककला हो । लोककला सांकेतिक हुन्छ ।’ ठाकुरले अवधी भाषा र कलाको विकास जरुरी भएको जिकिर गरे ।
स्थानीय बुद्धिजीवी राम अचल यादवले स्वयम्बाट स्वयम्को खोज नै कला भएको बताए । उनले जीविकोपार्जन गर्न गाह्रो हुँदाहुँदै पनि अवधी लोककला नमरेको र यसको रुचिमा पनि कमी नआएको बताए ।
कलाकार एचबी रम्तेलले लोप हुँदै गरेको गाउँको कलात्मक विषयको संरक्षणको निमित्त कला कार्यशाला गरी आर्काइभिङमा ध्यान दिनुपर्ने बताए । उनले पुस्तान्तरणको अभावले गर्दा लोककला संरक्षणमा काम गर्न नसकिएको चिन्ता व्यक्त गरे ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले स्थानीय कलाकारले उठाएको कलाग्राम निर्माणसम्बन्धी विषयमाथि चर्चा गर्दै स्थानीय सरकारले पहल गरेमा यो काम अगाडि बढाउन सहज हुने बताए । उनले कलालाई अर्थतन्त्रसँग जोडेर लैजान सकेमा नेपाली कलाक्षेत्र समृद्ध बन्ने विश्वास व्यक्त गरे ।