बहसमा नेपाली वास्तुकला
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा मंगलबार ‘वास्तुकला अन्तरक्रियात्मक’ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्गमो लामा, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङ्गमाङ्ग, तारागाउँ म्युजियमका निर्देशक तथा कलाकार रोशन मिश्र, वास्तुकार सविना तण्डुकार लगायतको उपस्थिति रहेको थियो ।
समारोहमा बोल्दै सदस्य सचिव थुम्केलीले वास्तुकलाको सौन्दर्यलाई स्थापित गर्ने मान्यता प्रतिष्ठानले लिएको बताए । उनले भने, ‘हाम्रो पहिचान केबाट छ होला, सौन्दर्य कस्तो छ ? यसको लागि कसको भूमिका हुन्छ ?’ समस्या खोज्ने र त्यसको समाधान पनि औंल्याउने कुरालाई जोड दिँदै उनले नेपाली वास्तुकलालाई पाठ्यक्रममा राख्न निकै जरुरी भएको धारणा राखे ।
तारागाउँ म्युजियमका निर्देशक तथा कलाकार रोशन मिश्रले वास्तुकलाभित्र पनि धेरै कुराहरु भएकाले त्यसलाई पहिचान गर्न जरुरी भएको बताउँदै अन्तरक्रियात्मक कार्यक्रमले तल्लो तहबाट वास्तुकलासँग जोडिनेहरुसँग बाटो तय गर्ने बताए । ‘हामी वास्तुकलासँग जोडिएका व्यक्तिसँग जोडिन सक्यौं भने पनि ठुलो कुरा हुन्छ’, उनले भने । ट्रेडिसनल, कन्टेम्पोररी, र कमर्सियल कला सबैको फरक फरक महत्व भएको धारणा राख्दै उनले डकुमेन्टेसन पनि यस कार्यको लागि ठुलो पाटो भएको औंल्याए ।
वास्तुकार सविना तण्डुकारले पढाइमा वास्तुकला भन्नेबित्तिकै काठमाडौं उपत्यकाको मात्रै केन्द्रित हुने गरेको जिकिर गरिन् । ‘सहर राम्रो बनाउँछु भन्दा पनि बाटो चौडा बनाउँछु भन्ने सोच भयो । नगरपालिका, गाउँपालिकासँग अर्बान डिजाइन गाइडलाइन्स र आर्किटेक्ट डिजाइन गाइडलाइन्स छैन । बाइ लज मात्र छ ।’ उनले प्रतिष्ठानले प्लेटफर्म दियो भने विद्यार्थीलाई थप एक्सपोजर मिल्ने धारणा राखिन् ।
कुलपति नारदमणि हार्तम्छालीले वास्तुकलालाई आध्यात्मिक, भौतिक र सांस्कृतिक पाटोबाट व्याख्या गर्दै यस अन्तरक्रियात्मक कार्यक्रमबाट आएका विषयलाई नीतिगत तहमा लैजाने बताए । उनले वास्तुकलाका गतिविधिलाई जागरुक बनाउने उद्देश्यले प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय लगायतका अन्य शैक्षिक संस्थासँग समन्वय गरेर त्यहाँका विद्यार्थीबीच प्रतिस्पर्धा गराउने तयारी पनि गरिरहेको जनाए । ‘पुराना पार्क, चोक, द्वारहरु लगायतको सौन्दर्य हराइसक्यो । त्यहाँका स्थानीय तहसँग छलफल गरेर त्यसलाई कसरी जोगाएर लान सकिन्छ भनेर छलफल गर्न जरुरी छ’, उनले भने ।
वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले प्रतिष्ठानले गर्ने राष्ट्रिय कला प्रदर्शनीमा वास्तुकलालाई कुन–कुन रुपमा कसरी समेट्न सकिन्छ भनेर सल्लाह र सुझाव माग्दै त्यहाँबाट आएका विषयलाई आगामी दिनमा परिमार्जित गर्दै अघि बढ्ने धारणा व्यक्त राखिन् । उनले उपत्यकाका केही स्थानमा वास्तुकलाका उदाहरणका रुपमा रहेका घरहरु बन्नेभन्दा पनि नासिने क्रम बढेको र त्यसको संरक्षणका लागि कतैबाट पहल नभएकोमा चिन्ता व्यक्त गरिन् ।