नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबारबाट सुरु भएको बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ अन्तर्गत बिहीवार (२०८० चैत १५ गते) ‘नेपाली अर्थतन्त्रमा ललितकलाको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदीप शाक्यले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै व्यापार तथा निकासी प्रवर्धन केन्द्रका राजेन्द्र सिंहले कलाको क्षेत्रबाट नेपाली अर्थतन्त्रमा कसरी योगदान पुग्न सक्छ भन्ने विविध विषयमा जानकारी गराउनुभएको थियो । उहाँल भन्नुभयो, ‘हामीले परम्परागत कलाहरू जस्तै माटोका भाँडो बनाउने, थाङ्का बनाउने, मूर्ति बनाउने, काठको कामहरू गर्नेलगायतका कलाहरूलाई बचाउनुपर्छ ।’
नेपाल हस्तकला महासङ्घको अध्यक्ष प्रचण्ड शाक्यले कलाको ज्ञानलाई काठमाडौँमा मात्र नभई पूर्व मेचीदेखि पश्चिम महकालीसम्म फैलाउनुपर्ने बताउनुभयो । निर्माण आर्ट ग्यालरीका सञ्चालक बिआर श्रेष्ठले कलाको प्रवर्धनका लागि सङ्घ–संस्थाहरूसँग समन्वय गरी हातेमालो गरेर अगाडि बढ्न सके नेपाली अर्थतन्त्रमा धेरै सहयोग पुग्ने कुरा व्यक्त गर्नुभयो । कुलपति नारदमणि हार्तम्छालीले कलाकार र कलालाई देशको अर्थतन्त्रसँग जोडेर लैजानुपर्ने कुरा बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रूपमा गरिरहने बताउनुभयो । उहाँले अप्रत्यक्ष रूपमा कलाको विषयमा मात्र नभई अर्थको रूपमा पनि कलाको क्षेत्रमा योगदान दिने गरी राखिएको कार्यक्रम गरिएको बताउनुभयो । ‘कलाकृति सिर्जना मात्र गर्ने तर आम्दानी नहुँदा कलाकारहरू यस क्षेत्रबाट पलायन हुने अवस्था पनि छ । तिनलाई बचाउनका लागि पनि कलालाई व्यवसायीकरण गर्नुपर्ने देखिन्छ ।’
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङ्माङसँगै विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।