नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबारबाट सुरु भएको बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ अन्तर्गत बुधबार (२०८० चैत १४ गते) ‘क्युरेटिङ: हिजो र आज’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताका रूपमा काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक सुजन चित्रकार रहनु भएको थियो । उहाँले आफू पढेर भन्दा पनि परेर क्युरेटर भएको बताउँदै क्युरेटिङका विभिन्न पाटाहरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खाना सबैले पकाउन सक्छन् तर कसरी पस्किने भन्ने कुरा चाँही क्युरेटिङ हो । यसलाई हेर्न आउने मान्छेले क्युरेटिङलाई कसरी लिन्छ भन्ने कुराले पनि महत्व राख्छ ।’ सो कार्यक्रममा कलाकार कैलाश कु. श्रेष्ठले क्युरटिङका विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।
कलालेखक तथा कला समीक्षक मुकेश मल्लले कलाकारले कहाँ कस्ता काम गरिरहेका छन् भन्ने कुराको रेकर्ड हुनु जरूरी रहेको बताउनुभयो । उहाँले पश्चिमबाट प्रभावित भएर त्यहीको नर्मस्मा बसेर कलाकर्म गर्नुपर्ने बाध्यतामा पनि सिर्जना भइरहेको धारणा राख्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति नारदमणि हार्तम्छालीले कलालाई प्रस्तुति गर्ने कुरालाई क्युरेटिङ गरी कलाको ज्ञानको वृद्धि गर्न सबैको सल्लाह सुझावको आवश्यक भएको बताउँदै कार्यक्रमले कलाको ज्ञानमा थप उर्जा थप्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमको समापन गर्दै उपकुलपति लालकाजी लामाले अग्रज कलाकारले उठाएको विषयलाई समातेर काम गर्ने कुरा बताउँदै कलेक्सन, छान्ने प्रकृयालगायतका सबै क्युरेटिङको पाटो भएको धारणा राख्नुभयो ।
प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदिप शाक्यले सहजीकराण गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू प्रदीप अधिकारी, दिनेश्वर महतो, अरुणा हिङमाङलगायतको उपस्थिति रहेको थियो ।