बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ अन्तर्गत मङ्गलबार (२०८० चैत १३ गते) कला समीक्षा कार्यशाला सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई उपप्राध्यापक विष्णु ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा कुलपति नारदमणि हार्तम्छालीले भावना, बौद्धिकता, विवेकतालाई जोडेर कलाका विशेषताको विकासका लागि तयारी गर्नुपर्ने र प्रतिष्ठानको मुख्य नारा अनसुन्धान, सिर्जना र सम्मानको रणनीतिलाई जोडेर अगाडि बढ्न सके कलाको समयपूरक विकास हुने बताउनुभयो । उहाँले कलाको नयाँ–नयाँ खोज, अनुसन्धान र आवश्यकतासँग जोडेर समयानुकूल गरिने प्रस्तुतिले विश्वको अवसर र सम्भावनालाई जोड्नुपर्ने धारणा राख्नुभयो ।
उपकुलपति लालकाजी लामाले बागमती प्रादेशिक ललितकला प्रदर्शनीका सन्दर्भमा ललितकलालाई नजिकबाट बुझ्न र बुझाउनका लागि कला समीक्षा कार्यक्रम गरिएको बताउनुभयो । कला साधना, सिर्जनामा कलाकारहरू पोख्त हुने भएता पनि त्यसको सैद्धान्तिक अभिव्यक्तिको पाटो फरक रहेको धारणा राख्नुभयो । कला सौन्दर्यको सैद्धान्तिक पाटो लेखनमा अभिव्यक्त हुँदा त्यसको पाठक धेरै हुने र त्यसबाट धेरै व्यक्तिहरू लाभान्वित हुने बताउनुभयो । साथै कलालाई समृद्ध बनाउन विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो । अग्रज कलाकार उदयचरण श्रेष्ठले परम्परागत चित्रकलाको विषयमा रहेर परम्परा चित्रकलाको शैली, माध्यम, दर्शन, विषयवस्तुलगायतका विषयमा चर्चा गर्नुभएको थियो । प्राज्ञ प्रदीप शाक्यले मूर्तिकलासँग सम्बन्धित सूक्ष्म विषयहरूको चर्चा गर्दै हाम्रो मौलिक कला निकै प्रभावकारी र पुरानो भएको धारणा राख्नुभयो । कलाकार केशव राज खनालले कलाको ज्ञान नभएसम्म यसलाई लेख्न नसकिने भन्दै कला लेख्दा यसको व्याकरण, कलाकारको जीवनी, शैली, कम्पोजिसन, रङको भाषा बुझ्नैपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, कलाकार, पत्रकार, कला समीक्षकलगायतको उपस्थिति रहेको थियो ।