नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुधबार (२०८१ वैशाख २६ गते) बङ्गलादेशी कलाकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘फ्रम माउन्टेन टु द डेल्टा’ कला प्रदर्शनीका सिलसिलामा नेपाल आउनुभएका कलाकारसँगै नेपालका लागि बङ्गलादेशका महामहिम राजदुत Salahuddin Noman Chowdhury को पनि उपस्थिति रहेको थियो । सो कार्यक्रममा राजदुत चौधरीले नेपाल र बङ्गलादेशको सम्बन्ध उच्चस्तरको रहेको बताउनुभयो । उहाँले दुई देशको दौत्य सम्बन्धको चर्चा गर्दै दुई देशका कला अद्वितीय रहेको विचार व्यक्त गर्दै दुई देशबिच भइरहने कला गतिविधिले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा बङ्गलादेशका Prof. Emeritus Rafinqun Nabi, Monirul Islam, Prof. Mohammad Eunus, Md. Muniruzzman Munir, Kanak Chanpa Chakma, Prof. Dr. Mohammad Iqbal लगायतका कलाकारहरूले कला र यसका आयामका बारेमा चर्चा गर्नुभएको थियो । उहाँहरूले नेपाल भ्रमणको अनुभव, बङ्गलादेशको कला, नेपालसँगको सम्बन्धसँगै कलाका अन्य विविध आयामका बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा अग्रज कलाकार शशीविक्रम शाहले नेपाल र बंगलादेशका कलाकारको प्रदर्शनीले दुई देशको कलालाई नजिकबाट नियाल्न मद्दत मिलेको विचार व्यक्त गर्नुभयो । उहाँले बंगलादेशका कलाकार र कलाकारसँगको आफ्नो सम्बन्ध/सम्झनाको चर्चा गर्नुभयो ।
यस्तै, सिद्धार्थ आर्ट फाउण्डेसनका अध्यक्ष संगीताले दक्षिण एसियाको कलाको चर्चा गर्दै बंगलादेश र नेपालको कला विशिष्ट रहेको बताउनुभयो । उहाँले काठमाडौं ट्रिएनालेका बारेमा चर्चा गर्दै नेपाली कलाको विविधताका बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, अरुणा हिङ्माङ, प्रतिष्ठानका प्राज्ञसभा सदस्य झिग्मे लामा, सिद्धार्थ आर्ट फाउन्डेसनका अध्यक्ष सङ्गीता थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्राज्ञपरिषद् सदस्य सौरगंगा दर्शनधारीले गर्नुभएको थियो ।