नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग र वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको सहकार्य तथा आमाछोदिङमो गाउँपालिका, रसुवाको आयोजनामा २०८० चैत ९–१३ गतेसम्म रसुवामा सम्पन्न भएको ‘आमाछोदिङमो आर्ट क्याम्प’ मा सिर्जित कलाकृतिको प्रदर्शनी मङ्गलबार (२०८१ वैशाख २५ गते)बाट प्रतिष्ठानमा सुरु भएको छ । प्रदर्शनीको रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले उद्घाटन गर्नुभयो । आचार्यले हाम्रो सभ्यता, संस्कृति अत्यन्तै सवल भएको र यो नै हाम्रो मुख्य शक्ति भएको बताउनुभयो । उहाँले गाउँपालिकामा पुगेर कलाकारले बनाएका कलाकृतिले त्यहाँको परिचय दिएको बताउनुभयो । ‘हामी जुन परिस्थितिमा बसेका छौं एक अर्कामा माया, प्रेम, सद्भाव छ यसलाई जोगाउन जरुरी छ’, आचार्यले भन्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले क्याम्पमा अहोरात्र खटेर कला सिर्जना गर्नुहुने कलाकारहरूप्रति आभार व्यक्त गर्दै यसले पालिकामा पर्यटनको विकासका साथै खोज अनुसन्धानमा थप टेवा पु¥याउने धारणा व्यक्त गर्नु भयो ।
गाउँपालिका अध्यक्ष बुचुङ तामाङले रसुवा कला, संस्कृति धनी क्षेत्र भएको बताउँदै पर्यटनलाई कुन माध्यमबाट अगाडि बढाउने भन्ने सन्दर्भमा यस कार्यशाला अगाडि बढेको र त्यसअनुरुपका कलाकृति बनेको बताउनुभयो । ‘युवालाई आर्थिक आयआर्जनको पाठसँगै बालबालिकाहरुलाई कला सिक्नका लागि पनि यस कार्यक्रमले प्रेरित गरेको उहाँको भनाइ थियो । बागमती प्रदेश सांसद इन्द्रप्रसाद गोतामे (जगतजंग) ले पालिकाको कला, संस्कृति र रीतिरिवाजलाई चित्रमा उतार्न महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले यस्ता कार्यक्रमले सबैलाई उत्साहित बनाएको भन्दै सहभागी कलाकारलाई धन्यवाद दिनुभयो । प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले पालिकासँगको सहकार्यमा गरिएको यस कार्यक्रमले नयाँ सन्देश दिएको बताउनुभयो । प्रतिष्ठानका प्राज्ञसभा सदस्य जुपिटर प्रधानले सबैको सामूहिक प्रयासले यो कार्य सफल भएको बताउँदै ऐतिहासिक, सामाजिक र सांस्कृतिक धरोहरको संरक्षणमा सबै तह तप्का लाग्न सकेमा कलाको विकास हुने बताउनुभयो ।
वैशाख ३१ गतेसम्म चल्ने यस प्रदर्शनीमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रदिप अधिकारी, दिनेश्वर महतो, संजय वान्तवा राई, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कलाकारहरू आशुराम खाइजु, भीम श्रेष्ठ, डिबी गुरुङ, डिल्लीराज शर्मा घिमिरे, दिपेन्द्र बनेपाली, झविन्द्र गुरुङ, जुनुमाया तामाङ, किशोर नकर्मी, मनरा प्रजापति, नरबहादुर बिके, निलम भुर्तेल, प्रदीप बज्राचार्य, प्रमिला बज्राचार्य, पुन्य मताङ, राजन काफ्ले, सम्भव महर्जन, शंकरसन श्रेष्ठ, सपना पौडेल महर्जन, शशी डङ्गोल, सुनिता राणाका कलाकृति राखिएका छन् ।