नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे गाउँपालिका, गोरखाको आयोजनामा आइतबारबाट सुरु भएको ‘धार्चे चित्रकला कार्यशाला’ बुधवार (२०८१ वैशाख २६ गते) सम्पन्न भएको छ । कार्यशालामा सहभागी २० जना कलाकारले आफ्ना कलाकृतिमा पालिकाको लोकपरम्परा, परिवेश, प्रकृति, जीवनशैली, रीतिरिवाज, भूगोल, वास्तुकला र जीवनशैली तथा मुहार चित्र आदि विषयवस्तुलाई क्यानभासमा उतार्नुभएको छ ।
समापन कार्यक्रममा कार्यशालामा सिर्जना गरिएका ४० कलाकृति एक समारोहकाबिच प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले गाउँपालिकालाई हस्तान्तरण गर्नुभयो । त्यसक्रममा उहाँले पालिकाको सम्पदालाई जीवन्त राख्न कलाकारले आफ्नो स्थानबाट योगदान दिएको र अब यी कलाबाटै गाउँको प्रचार–प्रसार गर्न पालिकालाई सहज हुने धारणा राख्नुभयो । अधिकारीले कलाकृतिलाई पर्यटनसँग जोडेर सङ्ग्रहालयको अवधारण तयार गर्न पनि पालिकालाई सुझाव दिनुभयो ।
कलाकार दिपेन्द्रमान बनेपालीले धार्चे गाउँपालिकामा भरपुर पर्यटकीय सम्भावना रहेको आँैल्याउनुभयो । उहाँले आगामी दिनमा कला, संस्कृति र साहित्यका कार्यक्रमहरूबाट आन्तरिक पर्यटकलाई आकर्षित गर्न सुझाव दिनुभयो ।
समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले कलाकारले बनाएका कलाकृतिलाई उचित संरक्षण गर्ने र आगामी दिनमा अझ बृहत् कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताउनुभयो । उहाँले यस कार्यक्रमका लागि सहकार्य तथा समन्वय गरेकामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद दिनुभयो ।
कार्यशालामा प्राज्ञ प्रदिप अधिकारी, मन गुरुङ, केशव राज खनाल, एनबी. गुरुङ, पृथ्वी श्रेष्ठ, अशुराम खाइजु, दिपेन्द्रमान बनेपाली, डिबी राई, लीलाधर केसी, बि.के. नरबहादुर, सुरेम देशार, केदार दाहाल, सुचिन श्रेष्ठ, रूपक राई, प्रितम थापा, दीक्षा राई, श्रीमिला श्रेष्ठ, सारा तुनिंचं् कोइंच्, (दुर्गा सुनुवार), कोपिला राई, विकास गुरुङलगायतका कलाकारहरूले सहभागिता जनाउनुभएको थियो ।