नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभाग एवम् मधेस प्रदेश समन्वय समितिको आयोजनामा सोमवार (२०८१ भदौ १० गते )‘मधेस प्रदेशमा कला गतिविधि तथा ललितकला पाठ्यक्रम’ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले मधेस प्रदेशमा ललितकलाका क्षेत्रमा गरिनुपर्ने विविध कार्यहरूको पावरप्वाइन्टमार्फत प्रिजेन्टेसन गर्नुभएको थियो । उहाँले मैथिली संस्कृति, सभ्यता र वैभवलाई कसरी विश्वव्यापी रूपमा पु¥याउने, ललितकला पाठ्यक्रमका विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले प्रतिष्ठानले मधेस प्रदेशका कलाकारहरूलाई एकीकृत गरेर आयोजना गरेको छलफल कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले मिथिला कलाको विकास, प्रवर्धनका लागि कोष प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि आवश्यक समन्वय र पहल गर्न कलाकारहरूलाई आग्रह गर्नुभयो । प्रतिष्ठानका हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङले मधेस प्रदेश विविध विधाका कलाको धनी क्षेत्र भएको र पहिचानसहित अर्थतन्त्रमा समेत यसले योगदान पु¥याउन सक्ने उल्लेख्य सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा प्राज्ञ एससी सुमनले मधेसको पहिचान मिथिला कलाबाट हुने भएकाले तीनवटै सरकारको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । यसका लागि सरोकारवाला निकायलाई घच्घचाउनुपर्ने उहाँको धारणा थियो । डा.सीमा शर्मा शाहले कला शिक्षाको आवश्यकता र यसको प्रवर्धनमा जोड दिनुपर्ने बताउनुभयो । प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले छलफल म्युजियम, कला ग्यालरी र ललितकला शिक्षाको भूमिकामा केन्द्रित रहेको बताउँदै मिथिला क्षेत्रमा कला शिक्षाको विकासका लागि प्रतिष्ठानले आवश्यक पहल गरेको जानकारी गराउनुभयो । उहाँले प्रदेशमा मूर्तिकलाको क्षेत्रमा थुप्रै काम गर्न सकिने बताउँदै त्यसका लागि प्रदेशका कलाकारहरू अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । प्राज्ञ प्रदीप शाक्यले नेपालका विविध कला र सङ्ग्रहालयका बारेमा चर्चा गर्नुभएको थियो । कलाकार लक्ष्मण मण्डलले प्रदेशमा मिथिला कलाको उचित बिक्री वितरण केन्द्र रहनुपर्नेमा जोड दिनुभयो । कलाकार रन्जु यादवले प्रदेशका समुदायमा धेरै कला भएको र त्यसलाई उजागर गर्नुपर्नेमा आवश्यकता औँल्याउनुभयो । कलाकार सोनाम लामाले कला समाजको सुन्दर फूलहरू भएकाले सबैले आ–आफ्नो ठाउँबाट प्रदेशका कलालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । समारोहमा प्राज्ञ रामपूजन ठाकुर, सरितादेवी मण्डल, सपना शाह, पुनमकुमारी दास, रुबी कर्ण, रामनारायण महतो, मनिसा शाह, नम्रता सिंह, कुमार भास्कर, सुभाद्री सुभा, हरिओम मेहतालगायतले पनि मिथिलाकला, यसको विकास, प्रवर्धनलगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।