नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसमायिक चित्रकला विभागको आयोजना तथा म्याङलुङ नगरपालिका, तेह्रथुमको सहकार्यमा शनिवार (२०८२ चैत २८ गते) ‘म्याङलुङमा क्यानभास’ विषयक चित्रकला कार्यशाला सुरु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा, शिल्प हस्तकला विभाग प्रमुख अरुणा हिङमाङको उपस्थिति रहेको थियो । कार्यशालामा कोशी प्रदेशका कलाकारहरू गणेश लामा, सञ्जु थापा मगर, महेन्द्र राई, डिल्लीकृष्ण मगर, जय प्रकाश चौधरी, विष्णुकुमार थापा, सोनाम चाम्लिङ, मयुषा संचेती, यशोदाकुमारी सिंह, तिलक राई, देउमान राई, मन्जुलकुमार लिम्बु, किरणकुमार सिगु, छितेन शेर्पा, युवराज रिजाल, प्रनोद दत्तलगायतको सहभागिता रहेको थियो ।
त्यस्तै, कार्यशालाको समापन समारोह आइतबार प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवाको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रम सामाजिक, सांस्कृतिक विकासका लागि भएको बताउँदै भौतिक संरचनालाई मात्र ध्यान नदिएर कलाको विकासलाई विचार गरिनुपर्ने बताउनुभयो । उहाँले कला र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने धारणा राख्नुभयो । तेह्रथुमका प्रमुख जिल्ला अधिकारी बन्दना राईले तेह्रथुमका परम्परा र संस्कृतिलाई उत्थान तथा प्रवर्धन गर्ने यस कार्यक्रममा सहभागी कलाकारहरूप्रति आभार व्यक्त गर्नुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तबाले समसामयिक कलाको विकासमा रैथाने कलालाई पनि जोड्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले संस्कृति र संस्कारलाई जगेर्ना गर्ने हेतुले भएको यो कार्यक्रम महŒवपूर्ण भएको धारणा राख्नुभयो । कार्यक्रममा प्रतिष्ठानका शिल्प हस्तकला विभाग प्रमुख अरुण हिङमाङले स्वागत गर्नुभएको थियो । म्याङलुङ नगरपालिका, तेह्रथुमका नगरप्रमुख संजयकुमार तुम्बाहाम्फेले तेह्रथुममा रहेका प्रकृति, कला, संस्कृति र परम्पराका विविध परिवेशलाई समेटर कलाकारले कला सिर्जना गर्नुभएकोमा कलाकारहरूप्रति आभार व्यक्त गर्नुभयो । समाजसेवी मित्र नेपालीले कार्यक्रमको समीक्षा गर्नुभएको थियो । समारोहमा कलाकार मयुषा संचेती, मंजुलकुमार राईलगायतले आ–आफ्नो धारणा राख्नुभयो ।
कार्यक्रममा शत्रुमर्धन गुल्मका गुल्मपति कृष्ण तिवारी, जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख, सशस्त्र प्रहरी बल म्याङलुङ गुल्मका गुल्मपति महेश राज विष्ट, म्याङलुङ वडा नं. १, ३,४ र ६ का वडा अध्यक्ष, कलकार, समाजसेवी, पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यशालामा सिर्जित १६ कलाकारका २० वटा कलाकृति प्रदर्शनीसमेत गरिएको थियो ।