नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घको आयोजनामा शुक्रवार (२०८२ चैत ६ गते) ‘अक्षरमा कला प्रतियोगिता तथा प्रदर्शनी २०८२’ सुरु भएको छ । कार्यक्रमको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । उहाँले अक्षरमा कला प्रदर्शनीले कलामा भावना र भावनामा बौद्धिकतासँगै पहिचान, पहल तथा पहुँच पनि आवश्यक रहेको बताउनुभयो । उहाँले सन्देश, सूचनालाई लिएर सिर्जना गरिने यस्ता कलालाई सौन्दर्यात्मक ढङ्गबाट कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य हरिप्रसाद भुसालले आफ्नो कर्मक्षेत्र कला भएको र सोहीसम्बन्धी कार्यक्रममा उपस्थित हुन पाँउदा खुसी लागेको बताउनुभयो । उहाँले यस क्षेत्रसम्बन्धी नीतिगत तहमा गर्न सकिने कार्यका लागि प्रतिष्ठानसँग सहकार्यका लागि सधैँ तत्पर रहेको धारणा राख्नुभयो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले विविध क्षेत्रसँग जोडिएका सर्जकहरूलाई समेटेर आयोजना गरिएको यस कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानले कलाका विविध विधासँग जोडिएका कलाकारहरूलाई समेट्दै ललितकलाको विकास तथा प्रवर्धनमा काम गरिरहेको धारणा राख्नुभयो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, नेपाल कमर्सियल आर्टिस्ट सङ्घका कार्यवाहक अध्यक्ष सुवासकुमार शाक्य, उपाध्यक्ष राजेन्द्रप्रसाद सुवेदी, डम्बर तामाङ, शारदा मानन्धर, महासचिव सुवास केसी, सचिव राजेन्द्र गुरूङ, सन्तोष बिसी, केशव लामा, कोषाध्यक्ष नवीन कार्की, सह–कोषाध्यक्ष सन्तोषकुमार गुप्ता, सङ्घीय सदस्यहरू रामकृष्ण चौधरी, अन्दीलाल सरदार, नेपाल कमर्सियल आर्टिस्ट सङ्घ पूर्वउपाध्यक्ष रेखा प्रधान राई, थारु कलाकार सङ्घका अध्यक्ष श्रवण चौधरी, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो । ४४ कलाकृति राखिएको प्रदर्शनी चैत ७ गते सम्पन्न हुने छ ।

 

 

 

Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.