नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल व्यावसायिक कलाकार सङ्घको आयोजनामा शनिवार (२०८२ चैत २८ गते) अग्रज कलाकार राधेश्याम मुल्मीको वृत्तचित्र तथा तेस्रो एकल चित्रकला प्रदर्शनी ‘प्रतिबिम्ब’ सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, पूर्वकुलपति, केके कर्माचार्य, पूर्वकुलपति किरण मानन्धर, अग्रज कलाकारहरू कालु कुमाले, शशिविक्रम शाह, हरिप्रसाद शर्मा, कृष्णगोपाल रञ्जितले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । समारोहमा अग्रज कलाकार राधेश्याम मुल्मीको वृत्तचित्र पनि सार्वजनिक गरिएको थियो । वृत्तचित्रको निर्देशन जीवनाथ धमलाले गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले अग्रज कलाकार राधेश्याम मुल्मीको कला प्रदर्शनी प्रतिष्ठानमा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । अग्रज कलाकार शशीविक्रम शाहले कलाकार मुल्मीका कला राम्रा भएकाले तिनको चर्चा गरिरहन नपर्ने बताउनुभयो । नेपाल व्यावसायिक कलाकार सङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठले कलाकार मुल्मीका कला सरल र यथार्थपरक रहेको बताउनुभयो । चैत्र ३० गतेसम्म चलेको प्रदर्शनीमा २५ कलाकृति राखिएका थिए ।

