नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको आयोजना तथा गण्डकी प्रज्ञा–प्रतिष्ठान र सिर्जनशील कलाकार समूहको सहकार्यमा शनिवार (२०८१ असार १ गते) बाट पोखरा आर्ट ग्यालरीमा ‘मूर्तिकला प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले गर्नुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गण्डकी प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको यस कार्यक्रम महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले पोखरामा गरिएको मूर्तिकला प्रशिक्षण कार्यक्रमले उक्त क्षेत्रका कलाकारलाई उत्साहित बनाएको बताउनुभयो । असार ७ गतेसम्म चल्ने कार्यशालामा झवीन्द्र गुरुङ, रिक गुरुङ, दलबहादुर गुरुङ, शिव सिर्पाली, एसकुमार श्रेष्ठ, देवेन्द्र गुरुङ, जित गुरुङ, गोपाल दराई, आकाश गुरुङ, सुदिन श्रेष्ठ, बाबुराम बस्ताकोटी, पर्वतमान राई, वामन चालिसे, निसान थापा मगर, भूषण राजभण्डारी, हेमकान्ति गुरुङ, सञ्जिता घिमिरे, कृपा श्रेष्ठलगायतका कलाकारको सहभागिता रहेको छ ।