नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बिहीबार (२०८१ मङ्सिर ६ गते ) सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा ‘कला–स्रष्टासँग लेखक’ कार्यक्रम सम्पन्न भएको थियो । विगत ३८ वर्षदेखि परम्परागत पौभा कलाका क्षेत्रमा निरन्तर रूपमा सक्रिय कलाकार सुन्दर सिंख्वाल (५७) को ‘साधना’ नामक पौभाको पहिलो एकल प्रदर्शनीमा आधारित रहेर गरिएको कार्यक्रमको नेपाल ललितकला पत्रकार समाज (सोफाज)का अध्यक्ष केशवराज खनालले संयोजन गर्नुभएको थियो । सो कार्यक्रममा अग्रज कलाकार एवम् प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुन्दर सिंख्वालसँग लेखक तथा पत्रकारहरूले उहाँको कला, कलायात्रा, शैली, शिल्प, दर्शन, प्रभाव आदिका बारेमा जिज्ञासा राख्नुभएको थियो । सो प्रदर्शनीमा जम्मा ३० वटा पौभा चित्रहरू समाविष्ट थिए । दुई तीनवटा छाडेर प्रायः सबै पौभा चित्रहरू ६–७ वर्षका अन्तरालमा बनाइएका हुन् । प्रदर्शनीमा हिन्दु र बौद्ध दर्शनमा आधारित पौभाहरू समाविष्ट थिए । जसमा हिन्दु दर्शनका गणेश, सरस्वती, कुमार, लक्ष्मी, विष्णु, कृष्ण, भद्रकाली, गुह्येश्वरी, हरिहर आदि तथा बौद्ध दर्शनका लोकेश्वर, मञ्जुश्री, आर्यतारा, बसुन्धरा, वज्रधर, जम्भला (कुबेर), चक्रसंवर शक्ति, २१ तारा आदि रहेका थिए । पौभाहरू Gouache, Water, Acrylic र Oil Color मा बनाइएका थिए । प्रदर्शनीमा राखिएका कलामा सिंख्वालको कलाको साधनालाई प्रतिबिम्बित गर्ने प्रशस्त चिह्नहरूसमेत देखिन्थ्यो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, सिद्धार्थ आर्ट ग्यालरीका संस्थापक तथा निर्देशक सङ्गीता थापा, अग्रज पौभा कलाकारहरू पूर्णप्रसाद ह्योजु, रत्नगोपाल सिंख्वाल, कला पत्रकार, लेखकलगायतको उपस्थिति रहेको थियो ।