नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान शिल्प–हस्तकला विभाग र मैथिली विकास कोषको सहकार्यमा मङ्गलवार (२०८१ पुस २३ गते)बाट जनकपुरमा ५ दिने ‘एप्लिक आर्ट कार्यशाला’ सुरु भएको छ । कार्यशालाको उद्घाटन मधेस प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले गर्नुभयो । उहाँले मधेस प्रदेशमा प्रचलित पुरानो एप्लिक आर्टका विषयमा चासो राखेर सरहानीय कार्यक्रम गरेकामा प्रतिष्ठान र कोषप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले तराईका महिलाहरूलाई स्वावलम्बी तथा आत्मनिर्भर बनाउन हजुरबुवा/आमाहरूले परम्परागत रूपमा गर्दै आउनुभएको एप्लिक आर्टको ज्ञानलाई निरन्तरता दिँदै वर्तमान पुस्तासँग जोड्न यस कार्यक्रम गरिएको बताउनुभयो । उहाँले यसलाई समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिँदै दैनिक क्रियाकलापमा समेत यस कला जोडिने धारणा राख्नुभयो । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले प्रदेशमा लुप्त हुँदै गएको यस कलालाई जोगाउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा यस कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तरता दिने बताउनुभयो । २७ गतेसम्म चल्ने कार्यशालामा प्रदेशका २० भन्दा बढी कलाकारहरूको सहभागिता रहेको छ ।