शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र रुम टु रिडको सहकार्यमा बिहीबार (२०८२ पुस ३ गते) विश्व ध्यान दिवस तथा ११ औँ राष्ट्रिय योग दिवसका अवसरमा आयोजित ‘योग, ध्यान, शिक्षा र साधना’ विषयक कला कार्यशाला सम्पन्न भएको छ ।
समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले वर्तमान विश्व घटनाक्रमलाई ध्यानमा राख्दा शान्ति र सद्भाव स्थापनाका लागि योग र ध्यानको विशेष महत्त्व रहेको बताउनुभयो । उहाँले कार्यशालामा सिर्जित चित्रकलामार्फत विश्वमा शान्तिको सन्देश फैलाउन थप योगदान पु¥याउने धारणा राख्नुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपाली माटो, जीवनपद्धतिसँग योग, ध्यान, शिक्षा, साधना गहिरो रूपमा जोडिएको बताउँदै नवपुस्तामा योग जीवनदर्शनलाई पुस्तान्तरण गर्न यस्ता कार्यक्रमहरूले विशेष भूमिका खेल्ने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रेमराज अधिकारीले प्रतिष्ठानसँगको सहकार्यमा गरिएको यस कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले कलाकारहरूबाट सिर्जित कलाकृतिलाई प्रदर्शनीसमेत गरी मन्त्रालयमा उचित स्थानमा राखिने जानकारी गराउनुभयो ।
कार्यशालामा उमेश श्रेष्ठ, अशोकमान सिंह, केशवराज खनाल, किशोर नकर्मी, दीपेन्द्रमान बनेपाली, सुवास आचार्य, राखी कर्ण, प्रतिमा खड्का, हरिबहादुर नेपाली, रन्जित कुँवर, अमिसा केसी, धृतिका तिवारी, गगनकुमार ज्यापु, अक्षत ताम्राकार, शुभय श्रेष्ठलगायतका कलाकारको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकृत अमृता अधिकारीसँगै कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।