नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवार(२०८२ पुस २१ गते ) बाट ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा सुरु भएको छ । कार्यशालाको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भिडियो आर्ट इन्स्टलेसनको पृष्ठभूमि तथा यस कलाको विगत, वर्तमान तथा भविष्यसँगको तादात्म्यबारे प्रकाश पार्नुभएको थियो । उहाँले भिडियो आर्ट इन्स्टलेसनमा यसको कन्टेन्ट, कन्सेप्ट, टुल्स तथा टेक्निकको विषयबारे बोल्दै सामाजिक रूपान्तरणका लागि यो कलाको सौन्दर्यशास्त्र तथा सौन्दर्य कलाको संयोजन गरी कल्चरल गाइडलाइनका आधारमा कला सिर्जना हुनपर्ने बताउनुभयो । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले कार्यशाला विशेष रहेको र कार्यशालामा सहभागीलाई यसको कस्सेप्टका बारेमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता प्राज्ञ जुपिटर प्रधानले भिडियो आर्ट इन्स्टलेसनको विश्व ऐतिहासिक पृष्ठभूमि तथा नेपालमा यस कलाको सुरुवात सन् १९८७ मा फर्स्ट एनिमेसन आर्ट वर्कसपसँगै भएको र तत्पश्चात् यसको चरणबद्ध विकासको विस्तृत व्याख्या गर्नुहँुदै कार्यशालामा सहभागी कलाकारहरूलाई भिडियो आर्ट इन्स्टलेसनसम्बन्धीे प्राविधिक ज्ञान तथा कन्सेप्ट डेभलोपमेन्टलगायतका विषयमा जनकारी दिनुभयो ।
शुक्रवारसम्म चल्ने कार्यशालामा डिभा लिम्बु, सविना तामाङ, सरिना लामिछाने, करिमा जोशी, सुशिला मुक्तान, क्रिस्टोफरमान सिंहले सहभागिता जनाउनुभएको छ । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो ।


